लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
प्रदेश विपद् व्यवस्थापन परिषद्काे १३ औँ बैठकलाई बुधवार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पानीजन्य विपद्का कारण यस वर्ष क्षति बढ्न सक्ने अनुमान गरिएको बताए। प्रि-मनसुन अवधिमै विभिन्न स्थानमा क्षति बढेकाले सबै निकायलाई तयारी अवस्थामा रहन आग्रह गरे ।
उनले राहत सामग्री सुरक्षित राख्न तथा तीन स्थानलाई केन्द्र बनाएर राहत सामग्री व्यवस्थापन गर्न निर्देशन दिए । सुरक्षा निकाय र स्थानीय तहसँग नियमित समन्वय गरेर फास्ट ट्र्याकबाट काम गर्नुपर्नेमा उनले जोड दिए ।
मुख्यमन्त्री आचार्यले विपद्को समयमा स्वास्थ्य सेवा, खानेपानी र खाद्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए । साथै विपद्का कारण अवरुद्ध हुनसक्ने सडक तथा यातायातका मार्ग तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिए ।
उनले आ-आफ्ना लाइन एजेन्सीहरुलाई तयारी अवस्थामा रहन तथा विपद् प्रतिकार्यमा प्रभावकारी रूपमा परिचालन हुन निर्देशन दिए ।
बैठकले जेनजी आन्दोलनका क्रममा लमहीमा रहेका मन्त्रीहरूको आवास मर्मत गर्ने लगायतका निर्णय समेत गरेको छ । आन्दोलनका क्रममा आगजनी हुँदा उक्त आवासमा क्षति पुगेको थियो ।