नेपालको आर्थिक संरचनामा उपभोगको प्रभुत्व

 संवाददाता    २०८३, १३ जेष्ठ बुधबार १४:१७     35 जनाले पढ़िसके



Spread the love

नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा उच्च रहेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।

उक्त सर्वेक्षण अनुसार चालू वर्षको कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ९०.०३ रहने अनुमान गरिएको छ । कुल उपभोग निजी क्षेत्र, सरकारी क्षेत्र र गैरसरकारी क्षेत्रको हिस्सा क्रमशः ९१.२६ प्रतिशत, ६.६२ प्रतिशत र २.१२ प्रतिशत रहने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा अमेरिकी डलरमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५ सय १३, प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५ सय ३५ तथा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय २ हजार ४४ पुग्ने अनुमान छ ।

प्रदेशगत रूपमा तुलना गर्दा चालु आर्थिक वर्षमा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी २ हजार ६ सय ४४ अमेरिकी डलर र मधेश प्रदेशको सबैभन्दा कम ९३४ अमेरिकी डलर रहने अनुमान छ ।

कुल गार्हस्थ्य उत्पादनको संरचनामा कृषि र गैरकृषि क्षेत्रको योगदान क्रमशः २४.० प्रतिशत र ७६.० प्रतिशत रहने अनुमान छ । पछिल्लो दशकको प्रवृत्ति हेर्दा कृषि क्षेत्रको योगदान घट्दै र सेवा क्षेत्रको योगदान बढ्दै गएको छ ।

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीयक र सेवा क्षेत्रको योगदान क्रमशः २४.४६ प्रतिशत, १३.७३ प्रतिशत र ६१.८१ प्रतिशत रहने अनुमान छ। चालु आर्थिक वर्षमा कृषि र गैरकृषि क्षेत्रको वृद्धिदर क्रमशः १.५८ प्रतिशत र ४.५४ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष यस्तो वृद्धिदर ३.०५ प्रतिशत र ४.१२ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब ९ करोड रहने अनुमान छ । यसमा सबैभन्दा बढी बागमती प्रदेशको ३६.७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ४.२ प्रतिशत योगदान रहने अनुमान गरिएको छ ।