सप्तकोशी नदीको बीच टापुबाट सशस्त्र प्रहरीले करीव ४ सय ७५ केजी गाँजा बरामद गरेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा १६ वटा बोरामा अवैध रुपले लुकाई राखेको उक्त गाँजा बरामद गरिएको हो ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत र सुरक्षा वेश रामपुरबाट सशस्त्र प्रहरी निरीक्षक राज विक्रम खड्काको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो ।
नदीको बीच टापुमा भएको कारण सशस्त्र प्रहरीले र्याप बोटको प्रयोग गरी सो गाँजा नदी वारी ल्याएको थियो ।
बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।