मैदानमा नदेखिए पनि टोलीको सफलताका लागि साथ रहने साम्बाको भनाइ

 संवाददाता    २०८३, ११ जेष्ठ सोमबार १६:२२     24 जनाले पढ़िसके



Spread the love

नेपाली राष्ट्रिय महिला टोलीका फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले साफ च्याम्पियनसिपमा नेपाली टोलीलाई समर्थन गर्न आह्वान गरेकी छन्।

साम्बाले एक भिडियोमार्फत आफू नेपाली टोलीलाई सपोर्ट गर्न तयार रहेको बताएकी हुन्।

सावित्राले भिडियो सन्देशमा भनेकी छन्– नमस्ते म सावित्रा भण्डारी साम्बा। साफ वुमन्स च्याम्पियनसिप हुँदैछ। आशा छ तपाईहरु म जत्तिकै उत्साहित हुनुहुन्छ। इन्जुरीका कारण म यसपालि मैदानमा हुनेछैन। तर मेरो पूरा समर्थन हाम्रो नेपाली टोलीलाई छ। खेल भारतमा हुने भएकाले हामी रंगशाला जान नपाए पनि केही फरक पर्दैन। म जस्तै तपाईंहरु पनि डिगो एपबाट सबै म्याच लाइभ हेर्न सक्नुहुन्छ। र हाम्रो टीमलाई घरमै बसेर सपोर्ट गर्न सक्नुहुन्छ। बेस्ट विसेस टीम नेपाल, लेट्स गो टीम !

घुँडामा चोट बोकेकी साम्बाको सफल शल्यक्रिया भइसकेको छ। कतारस्थित अस्पेटार अस्पताल पुग्न समस्या भएपछि विशेषज्ञको सुझावमा साम्बाले न्युजिल्याण्डमै शल्यक्रिया गरेकी थिइन्। वेलिङ्टन फिनिक्समा आवद्ध साम्बा लामो समयदेखि मैदान बाहिर छिन्।

साफ महिला च्याम्पियनसिप–२०२६ को उद्घाटन खेलमा आज नेपालले भुटानको सामना गर्दैछ। खेल भारतको गोवास्थित जवाहारलाल नेहरु स्टेडियममा दिउँसो ४ः४५ बजे शुरू हुनेछ।