बामगती प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नीति कार्यक्रम भन्दा पहिला सदनमा सभामुख ल्याउनु पर्ने बताएको छ।
सोमबार (आज) जारी प्रदेश सभा बैठकमा नेकपा प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले नीति कार्यक्रम ल्याउनु भन्दा पहिला सभामुख ल्याउन आवश्यक रहेको बताएका हुन्।
‘प्रदेश सभा बैठक चलेकै छ, सभामुख किन चाहियो? सत्तारुढ दलबीच सहमती जुटेको छैन भन्ने जवाफ दिएर पन्छिनु ठिक होइन,’ नेता जम्मकट्टेलले भने, ‘यो विषय तपाईंहरूको भागबण्डाको मात्रै विषय होइन। यो सिंगो सभाको विषय हो। प्रदेशबासी र सिंगो राष्ट्रको विषय हो। ९ महिनादेखि सभामुख नहुनु ख्यालख्यालको विषय होइन। संसदको इतिहासमा सभामुख भन्ने कुरा धेरै महत्वपूर्ण हो।’
उनले अप्ठेरो परिस्थितीमा सबै दलहरूको सहमतीमा सभामुख चयन गरेर सदनलाई चलायमान बनाउनुपर्ने बताए।
‘विधि मिचेर नबस्नोस्। सबै दलहरू बसेर २ घण्टामा सभामुख चयन गरौँ। अनि अरु कार्यतालिकाहरू अघि बढाऔँ। अति लज्जित भयौँ हामी,’ जम्मकट्टेलले भने।
सरकारले प्रशासनिक पुनर्संरचनाका विषयमा समेत जम्मकट्टेलले प्रश्न उठाएका छन्। कार्यालय कटौती र मन्त्रालय घटाउँदा विकासमा बाधा पर्ने उनले बताए। सरकारले गर्न खाजेको प्रशासनिक पुर्नसंरचनाले काम र प्रदेशको विकास हुन नसक्ने उनले बताए।