नाटक ‘लुसिफर राइजिङ’ आइतबारबाट एकाएक चर्चामा आएको छ। थापागाउँस्थित एक थिएटर नेपालमा मञ्चन भइरहेको नाटक एकाएक रोकिएपछि यसले सबैको ध्यान तानेको हो।
आइतबार नाटक निर्माण टिमले एक सूचना निकाल्दै अज्ञात राजनीतिक धम्कीका कारण नाटकको मञ्चन रोक्ने निर्णय गरेको उल्लेख गरेको छ। सूचनामा भनिएको छ, ‘अज्ञात राजनीतिक व्यक्ति, प्रवृति र समूहको दबाबका कारणले नाटक लुसिफर राइजिङको शो रोक्न बाध्य भएका छौँ। यसका लागि नाटक हेर्न आउनु भएका दर्शकप्रति क्षमाप्रार्थी छौँ।’
निर्माण टिमले अज्ञात राजनीतिक व्यक्ति, प्रवृति र समूहको दबाब भने पनि कुन राजनीतिक दल, समूह वा व्यक्तिले दबाब दिए भन्ने प्रष्ट पारेको छैन। तर, रंगकर्मी र चलचित्रकर्मीले भने यसको विरोध जनाइरहेका छन्।
मझुवा बगर संस्थाले निर्माण गरेको नाटकलाई एक थिएटरले हल भाडामा दिएको थियो। एक थिएटरका सञ्चालक अनिल सुब्बाले आफूले हल दिए पनि यसबारे समाचार आएपछि थाहा पाएको प्रतिक्रिया दिए।
‘हल चाहि दिएको हो। तर, नाटक बन्द भएको मैले पनि समाचारबाट नै थाहा पाएँ। विभिन्न कुराहरू आइरहेको छ। त्यसैले अहिले धेरै बोल्न मिल्दैन,’ सुब्बाले भने।
नाटक रोकिएको समाचार आएपछि आफूले नाटकका निर्देशकलाई फोन गरेको उनले बताए। तर, सम्पर्क हुन नसकेको भनाइ छ।
यद्यपि, आज ह्वाट्सएपमा भने कुरा भएको उनले जानकारी दिए। ‘ह्वाट्सएपमा आज रिप्लाइ गर्नुभएको थियो। उहाँले दिउँसो विज्ञप्ति निकाल्ने भन्नुभएको छ। म पनि उहाँको वक्तव्य कुरेर बसिरहेको छु,’ सुब्बाले भने।
केही समयदेखि प्रधानमन्त्री वालेन्द्र शाहका आलोचकले उनको आलोचना गर्दा ‘लुसिफर’ शब्द प्रयोग गर्दै आएका छन्। त्यसैलाई जोडेर नाटक बन्द हुँदा सरकारले आदेश दिएको हो कि भनेर आलोचना भइरहेको छ।
एक थिएटरका सञ्चालक सुब्बाले पनि सुरुवातदेखि ‘लुसिफर’ शब्दलाई लिएर अब्जेक्सन जनाएको सुनाए। ‘यो नाटकको शीर्षकमा विभिन्न कुराहरू आएपछि हामीले निर्देशकज्यूलाई सोधेका थियौँ। तर, उहाँहरूले त्यस्तो केही छैन, सम्बन्ध छैन भन्नुभयो। केही अपाच्य शब्द पनि प्रयोग गरिएका थिए। रिहर्सलका क्रममा निर्देशकज्यूलाई धम्की आएको भन्ने कुराहरू पनि सुनिएको थियो,’ उनले भने।
‘लुसिफर राइजिङ’ मान्छे कति बेला शक्तिशाली हुन्छ भन्ने कथालाई केन्द्रमा राखेर तयार भएको नाटक हो। जेनजी आन्दोलनलाई सम्झाउने यो नाटकले अराजकताले सिर्जना गर्ने ध्वंस र त्यसको असरलाई समेटेको छ। नाटकमा मानिसभित्रको अन्तरद्वन्द्व, शक्ति, राक्षसी प्रवृत्ति र त्यसले आम मानिसलाई दिने दुःखलाई देखाएको छ ।
सहलेसको निर्देशनमा बनेको यस नाटकमा अनोज पाण्डे, तारा, बुद्धिराम चौधरी, मिलनबहादुर खड्का, सुब्रतराज सिलबाल एडन बातीलगायत कलाकारको अभिनय छ।
एक थिएटर नेपाल, थापागाउँमा मञ्चन भइरहेको नाटक अज्ञात व्यक्तिको धम्कीका कारण रोकिएको भनिएता पनि सरकारले भने यसबारे अनविज्ञता प्रकट गरेको छ। नाटक ‘लुसिफर राइजिग’ को मञ्चन रोकिएको बारे केही पनि जानकारी नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
यसबारे रास्वपा सांसद गणेश कार्कीले पनि स्टाटस लेखेका छन्। आफूले सरकार र पार्टीसँग बुझ्दा त्यो नाटक चल्न नपाउने भन्ने सोचाइ नै नभएको उनको भनाइ छ।
‘लुसिफर राइजिङ नाटक राजनीतिक कारण र सुरक्षा भन्दै बन्द गराएको बारेमा मेरो चासो छ। सरकार र पार्टीसँग बुझ्दा त्यो नाटक चल्न नपाउने भन्ने सोचाइ नै नभएको पाएको छु। कसले धम्की दिएको भन्ने बारेमा बुझ्न खोज्दा सो नाटकका निर्देशकसँग सम्पर्क हुन सकेको छैन। थप बुझ्ने क्रममा छु,’ सांसद कार्कीले लेखेका छन्।
नाटक चल्नुपर्ने उनको भनाइ छ। ‘निर्बाध कलाकारिता, स्वतन्त्र पत्रकारिता लगायत विषय लोकतन्त्रका अभिन्न अंग हुन्। यसमा सीमा लगाउने कुरा यो सरकारले सोचेको छैन भन्ने प्रमाण भर्खरै भएको सेन्सर बोर्डमा भएको परिवर्तनबाट पनि बुझ्न सकिन्छ। हाल भएको निर्णयअनुसार फिल्ममा अब यो सिन काट् र त्यो फेर् भनिदैन, कुन दर्शकले हेर्न मिल्ने कि नमिल्ने चै छुट्याइन्छ,’ कार्कीले थपेका छन्, ‘यसैले सो नाटकका निर्देशकलाई सम्पर्कमा आउन तथा धम्की दिने जो कोही भए पनि जानकारी दिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दछु।’