अन्तर्राष्ट्रिय मञ्चबाट फर्किएको ‘एलिफेन्ट्स इन द फग’लाई एयरपोर्टमा भव्य स्वागत

 संवाददाता    २०८३, ११ जेष्ठ सोमबार १२:४२     23 जनाले पढ़िसके



Spread the love

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेर स्वदेश फर्किएको फिल्म ‘एलिफेन्ट्स इन द फग’ को टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

नेपाल सरकारले निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा लामालाई नौमती बाजा बजाउँदै फूलमालाले स्वागत गरेको हो।

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, पर्यटन बोर्डका वरिष्ठ प्रबन्ध सूर्य थपलिया विमानस्थल पुगे। साथै चलचित्र निर्देशक समाज र कलाकार संघका सबै कार्यसमिति सो अवसरमा सहभागी थिए।

बोर्डले विमानस्थलमै पत्रकार सम्मलेनको आयोजना गर्दै निर्माण टोली बधाई दिएको छ। जहाँ सूचना तथा संचार मन्त्री तिमिल्सिनाले यस जितले राष्ट्रको नाम अझै उच्च बनाएको बताए।

उनले भने, ‘धन्यवाद एलिफेन्ट्स् इन्द फग, यो उपलब्धिका लागि। यो पक्कै राष्ट्र चिनाउने ठूलो कार्य हो। यसले राष्ट्रको नामलाई झनै उच्च बनाइदिएको छ।’

सूचना तथा संचार मन्त्रालयले चाँडै एक कार्यक्रम आयोजना गरेर सम्मान गर्ने भएको छ। चलचित्र विकास बोर्डले यसैसाता एक सम्मान कार्यक्रम आयोजना गरेर साढे २ लाख रुपैयाँ प्रदान गर्नेछ।

७९ औँ कान्स फिल्म फेस्टिभलमा यस फिल्मले दोस्रो महत्त्वपूर्ण विधा अन सर्टेन रिगार्डतर्फ ‘जुरी प्राइज’ जित्दै इतिहास रचेको छ।
अविनाश विक्रम शाहको लेखन र निर्देशन रहेको यस फिल्मले जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने यौनिक तथा अल्पसंख्यक समुदायको कथा भन्छ।