छिनाझप्टीमा काफल नष्ट भएपछि नगरप्रमुखले १० हजार क्षतिपूर्ति दिए

 संवाददाता    २०८३, ७ जेष्ठ बिहीबार १६:००     41 जनाले पढ़िसके



Spread the love

वीरेन्द्रनगरमा काफल बेच्दै हिँडेकी एक महिलाले बाटोमै काफल पोखिएर बापत १० हजार रुपैयाँ क्षतिपूर्ति पाएकी छन् ।

कालिकोटको महाबै गाउँपालिका-४ की धर्मिला अधिकारी चौलागाईंले डालोमा काफल बोकेर वीरेन्द्रनगरको सिटी बसपार्क नजिक सडकमा बिक्री गर्दै हिँडिरहेकी थिइन्। सोही क्रममा नगर प्रहरीसँगको भनाभनपछि उनको टाउकोमा रहेको डोको झकझकाउँदा करिब १५ केजी काफल भुईँमा पोखिएर नष्ट भएको थियो।

प्रति किलो ५ सय रुपैयाँका दरले करिब ७ हजार ५ सय रुपैयाँ बराबरको काफल नोक्सान भएपछि उक्त घटना सामाजिक सञ्जालमा भाइरल बनेको थियो। घटनापछि वीरेन्द्रनगर नगरपालिकाले पीडित महिलालाई खोजी गरी राहत स्वरूप १० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको जनाएको छ।

नगरपालिकाले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको पनि जनाएको छ।

पीडित धर्मिलाले विगत ४-५ वर्षदेखि फलफूल बेचेर परिवार चलाउँदै आएकी छन्। उनले आफूले निवेदन नै नदिँदै नगरपालिकाले बोलाएर क्षतिपूर्ति दिएकोमा सन्तोष व्यक्त गरिन्।

‘पढेलेखेको छैन, जागिर छैन, यसरी नबेचे कसरी छोराछोरी पाल्ने ? अहिले क्षतिपूर्ति पाउँदा ठिकै लागेको छ,’ उनले भनिन्।

वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले मुख्य बजार क्षेत्रहरूमा अत्यधिक भीडभाड हुने स्थानमा सडक व्यापार गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले सुरक्षित स्थानमा बसेर व्यापार गर्न आग्रह गरिएको बताइन्।

‘उहाँले ७ हजार ५ सय रुपैयाँ क्षतिको कुरा गर्नुभएको थियो, तर हामीले १० हजार रुपैयाँ क्षतिपूर्ति दिएका छौँ,’ उनले भनिन्।

नगरपालिकाका अनुसार बसपार्क क्षेत्रमा सवारी साधनको अत्यधिक आवतजावतका कारण स्थान परिवर्तन गर्न भनिएको अवस्थामा तानातान हुँदा काफल पोखिएको हो।