स्कटल्यान्डमाथि विजयसँगै नेपाल पाँचौँ स्थानमा

 संवाददाता    २०८३, ४ जेष्ठ सोमबार १५:२७     30 जनाले पढ़िसके



Spread the love

स्कटल्यान्डलाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ।

सोमबार भएको अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको हो। स्कटल्यान्डलाई हराएसँगै नेपाली टोली अंक तालिकाको पाचौँ स्थानमा उक्लेको छ।

नेपालले स्कटल्यान्डलाई पराजित गरेको खेलमा सन्दीप लामिछानेले विश्व कीर्तिमान बनाए। स्कटल्यान्डविरुद्ध सुरुवाती २ विकेट लिएपछि सन्दीपले सर्वाधिक छिटो १५० विकेट लिने खेलाडीको सूचीमा आफूलाई उभ्याए। ओडीआईका पछिल्ला खेलमा उत्कृष्ट प्रर्दशन गर्न नसकेका ललित राजवंशीले चार विकेट लिए।

लिग–२ अंक तालिकाको शीर्ष चारमा रहे नेपालले विश्वकपको ग्लोबल छनोट खेल्दै एक दिवसीय वरियता कायम रहनेछ। अन्यथा प्लेअफ खेल्नुपर्नेहुन्छ।

आजको जितसँगै नेपाली टोलीले शृंखलाको पहिलो खेलमा स्कटल्यान्डसँग भोगेको हारको बदलासमेत लिएको छ। स्कटल्यान्डसँगको पहिलो खेलमा नेपाल डीएल मेथडमा दुई रनले पराजित भएको थियो।

अमेरिकालाई भने आठ विकेटले हराएको थियो। जारी सिरिजमा नेपालले एक खेलमा हार र दुई खेलमा जित निकाल्दै चार अंक जोडेको छ।
शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकासँग शुक्रबार खेल्नेछ। लिग-२ अन्तर्गत नेपालले घरेलु मैदानमा अन्तिम शृंखला खेलिरहेको छ।

स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो। पहिलो विकेटका लागि आशिफ शेख र कुशल भुर्तेलले ६.४ ओभरमा ५८ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। ओपनर आशिफ २९ रन बनाउँदा रनआउट भए। उनले १७ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

अर्का ओपनर कुशल भुर्तेल ७.२ ओभरमा २८ रनमा बनाउँदा एलबीडब्लूको धरापमा परे। २७ बलमा ४ चौका र १ छक्का सहयोगमा २८ रन बनाएका भुर्तेल ब्रान्डोन म्याकमुलेनको बलमा एलबीडब्लूको धरापमा परे।

तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र इशान पाण्डेले १०४ रनको साझेदारी गरे। इशान ५५ रन बनाउँदा मार्क वाटको बलमा कट एन्ड बोल्ड हुन पुगे। उनले ६१ बलमा ५ चौका र २ छक्का प्रहार गरे।