सन्दीपले बनाए सर्वाधिक छिटो १५० विकेट लिने विश्व रेकर्ड

 संवाददाता    २०८३, ४ जेष्ठ सोमबार ११:२५     113 जनाले पढ़िसके



Spread the love

नेपालका लेग स्पिनर सन्दीप लामिछाने विश्व एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय ५० विकेट लिने नयाँ रेकर्ड बनाएका छन्।

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत आइतबार स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले यो किर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

सन्दीपले अस्ट्रेलियन मिचेल स्टार्सको नाममा रहेको रेकर्ड तोडेका हुन्।

मिचेलले सन् २०१९ को विश्वकपमा वेस्टइन्डिजविरुद्धको खेलमा ७७ खेलमा १ सय ५० विकेटको रेकर्ड बनाएका थिए।

सन्दीपले ७३ ओडीआईमा ७१ इनिङ्समा १ सय ५० विकेट लिँदै स्टार्सको रेकर्ड तोडेका हुन्।

सन्दीपले स्कटल्याण्डविरूद्ध व्यक्तिगत दोस्रो विकेट लिँदै १ सय ५० विकेटको आँकडा पूरा गरेका हुन्।

सन्दीपले १२ ओभरको तेस्रो बलमा जर्ज मुन्सेलाई पेभेलियनको बाटो देखाएका थिए। २०औँ ओभरको अन्तिम बलमा ७३ रन बनाएका ब्रान्डन मकमलेनलाई इशान पाण्डेद्वारा क्याच आउट गराउँदै उनले १ सय ५० विकेटको कीर्तिमान कायम गरे।

एकदिवसीय क्रिकेटमा सन्दीपको उत्कृष्ट बलिङ फिगर सन् २०२१ को लिग टुमा पीएनजीविरुद्ध ११ रन दिएर ६ विकेट लिनु हो। एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय विकेट लिने रेकर्ड पनि सन्दीपकै नाममा छ।

उनले ४२ खेलमा १ सय विकेटको रेकर्ड कायम गरेका हुन्। यस्तै एकदीवसीय क्रिकेटमा लगातार ३ खेलमा ४ विकेट लिने रेकर्ड पनि उनकै नाममा छ।