श्रममन्त्री सचिवालयका कर्मचारी मुस्तकिम अपहरण मुद्दामा पक्राउ

 संवाददाता    २०८३, २९ बैशाख मंगलवार १३:०३     25 जनाले पढ़िसके



Spread the love

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले हलुका सवारी चालक पदमा नियुक्ति दिएर सचिवालयमा राखेका चालक मुस्तकिम आलम अपहरण, शरीर बन्धक तथा अमानवीय व्यवहारको कसुरमा पक्राउ परेका छन् ।

महादेवा गाउँपालिका-१ घर भई हाल राजविराज नगरपालिका-३ मा बस्दै आएका आलमलाई सोमबार राजविराजबाट पक्राउ गरिएको सप्तरी प्रहरीले बताएको छ । आलम मन्त्री यादवको सचिवालयमा रही हलुका सवारी चालकको रूपमा कार्यरत छन् ।

पीडितको जाहेरीअनुसार मुस्तकिम मियाँसहितका व्यक्तिहरूले उनलाई जबर्जस्ती अपहरण गरी एकान्त स्थानमा लगेका थिए । त्यसपछि शरीर बन्धक बनाएर निर्घात कुटपिट गर्नुका साथै नग्न बनाएर भिडियोसमेत खिचिएको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरू गरिएको बताए । प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्ति फरार छन् र उनीहरूको खोजी तीव्र पारिएको छ ।

आलमलाई सप्तरी जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप भइसकेको छ ।