पोखरामा बालबालिकालाई निशाना बनाएर सुनका गहना लुट्ने कार्यमा संलग्न एक महिला पक्राउ परेकी छन्। ‘मम्मीको साथी’ भनेर बालिकासँग नजिकिने र मिठाई तथा जुसको प्रलोभन देखाएर गहना चोर्ने गरेको आरोपमा अम्बिका पुलामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार हेमजास्थित रामचोकमा ६ वर्षीया बालिकाको करिब १ लाख रुपैयाँ मूल्य बराबरको सुनको मुन्द्रा लुटिएको घटनापछि अनुसन्धान अघि बढाइएको थियो। सीसीटिभी फुटेजमार्फत पहिचान गरिएकी उनी भाडाको स्कुटर प्रयोग गरेर घटनास्थल पुगेकी थिइन्।
प्रहरीका अनुसार पुलामीविरुद्ध चोरी र लुटपाटसम्बन्धी १८ वटा मुद्दा छन्। विगत चार वर्षदेखि उनी यस्तै प्रकृतिका घटनामा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। यसअघि अदालतले उनलाई कैद र जरिवानाको फैसला सुनाए पनि उनी फरार रहँदै आएकी थिइन्।