नेपालमा मेटाको अर्बौं लगानी, प्रविधि क्षेत्रमा नयाँ तरंग

 संवाददाता    २०८३, २४ बैशाख बिहीबार १२:५१     22 जनाले पढ़िसके



Spread the love

विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले नेपालमा डेटा सेन्टरमा लगानी गर्ने भएको छ। इन्टरनेट सेवा प्रदायकको पहिचान बनाएको वर्ल्डलिंक कम्युनिकेसन्ससँगको सहकार्यमा मेटाले नेपालमा पाँच अर्ब रुपैयाँ लगानी गर्ने भएको हो।

अमेरिकी बहुराष्ट्रिय कम्पनी मेटा प्लेटफर्म्स इन्क फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, ह्वाट्सएप, थ्रेड्स र मानुसको मातृक कम्पनी हो। नेपालमा फेसबुकका धेरै प्रयोगकर्ता छन्।

विश्व अर्थतन्त्रमा राम्रो योगदान दिने विश्वका ‘टप–६ बिग टेक’ मध्ये मेटा एउटा हो। वर्ल्डलिंकको काठमाडौं, मातातीर्थमा पहिलेदेखि नै आफ्नै डेटा सेन्टर सञ्चालनमा छ। सोही पूर्वाधार उपयोग र विस्तार गर्ने गरी मेटा नेपाल आउन लागेको हो।

मेटा र वर्ल्डलिंकले केही महिनाअघि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ (एनडीए) गरिसकेका छन्। एनडीएको अर्थ गोपनीयता सम्झौता भन्ने हो। यसमा संलग्न पक्षहरूले एकअर्काबाट प्राप्त सम्वेदनशील वा गोप्य जानकारी बाहिर नल्याउने बुँदाहरु उल्लेख हुन्छन्। वर्ल्डलिंक र मेटाबीच यस्तो सम्झौता पहिलै भइसकेको हो।

अहिले उनीहरुले एक चरण अघि बढेर लगानी साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। तर, दुवै कम्पनीले आगामी साउन महिनामा मात्रै लगानी सम्बन्धी विवरण सार्वजनिक गर्ने सहमति गरेको विश्वस्त स्रोतहरूले बताए।