प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीसँग तर्सिएको निजी क्षेत्रलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आश्वस्त पार्ने प्रयास गरेका छन्।
विशेषगरी, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको पक्राउ र विदेशबाट आयात भएका सामानमा भन्सार विन्दुमै अधिकतम बिक्री मूल्य (एमआरपी) स्टिकर टाँस भएको हुनुपर्ने नियम कडाइका लागू गरिएपछि व्यवसायीहरू सरकारको कार्यशैलीप्रति सशंकित भएका थिए।
उद्योगी व्यवसायीले सरकारको गतिविधिबाट त्रसित भएको र मनोबल खस्किएको बताएपछि रवि लामिछानेले उनीहरूसँग संवाद गरेका थिए। निजी क्षेत्रको पहलमै आइतबार ललितपुरस्थित हिमालयन होटलमा रविले उद्योगी व्यवसायीहरूसँग छलफल गरेका हुन्।
उद्योगी व्यवसायीसँगको भेटमा रविले भने, ‘आगामी दिनमा व्यक्तिले कसैलाई संरक्षण गर्ने होइन। नीतिले नै संरक्षण गर्ने वातावरण बनाउँदै छौँ। त्यसका लागि नीतिगत सुधार हुन्छ। पहिले भएका समस्यालाई समाधान गर्छौं। निजी–क्षेत्र सशंकित हुनु पर्दैन।’
यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीलाई पक्राउ गरेर नथुन्ने बताए पनि शेखर गोल्छा पक्राउ परेपछि निजी क्षेत्रले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएको थियो।
गोल्छाले आवश्यक पर्दा अनुसन्धानमा सघाउने बताउँदा बताउँदै धरपकड गरेर बदनाम गर्ने प्रयास गरेको भन्दै निजी क्षेत्रले सरकारसँग असन्तुष्टि व्यक्त गरेका थिए।
सरकारको कामलाई बचाउ गर्दै पार्टी सभापति लामिछानेले भने, ‘निजीक्षेत्र सशंकित भएको, अलि डराएको जस्तो देखेर नै म तपाईहरूसँग बस्न चाहेको हो। तपाईंहरु डराउनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन। हामी व्यवसायीहरुलाई कुनै खालको दुःख दिन चाहदैनौं। तर, केही व्यवसायीहरू, पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्नेगरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नु परेको हो।’
लामिछानेसँगको भेटमा सहभागी भएका नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेका अनुसार लामिछानेले व्यवसायीलाई लगानीको लागि आश्वस्त पार्ने प्रयास गरेका थिए।
लामिछानेलाई उदृत गर्दै पाण्डले भने, ‘बाचापत्र अनुसार नै सरकार चल्ने हो। निजी क्षेत्रको सहयोग बिना वाचा पत्रमा उल्लेख भएको विषय कार्यान्वयन हुन सक्दैन। लगानीकर्तालाई प्रोत्साहन गर्छौं। लगानी सिर्जना गर्ने निजी क्षेत्रले नै हो।’
व्यवसायीलाई पक्राउ गरेको विषय उल्लेख गर्दै लामिछानेले भने, ‘धरपकडका विषयमा म तपाईहरुलाई स्पष्ट भन्छु, हामी सुशासन र आर्थिक वृद्धिको डिपार्चरमा जान चाहन्छौं। यसमा केही असहज हुन सक्छ। तपाईहरुको क्षमता र सहयोगलाई साथमा लिएर नै अघि जान सक्छौं भनेर सरकार अघि बढेको हो। रास्वपाको सरकार, हामीले लिएको लक्ष्य, उद्देश्य र आधार तपाईहरु नै हो।’
व्यवसायीले कुनै नेतालाई पछ्याएर काम गराउनुपर्ने अवस्था नहुने उनले बताए। लामिछानेले भने, ‘तपाईले मलाई मेरो घरलाई र पार्टी कार्यालयलाई देख्नुपर्दैन, टेक्नुपर्दैन। हामी तपाईहरुको समस्या सहजै सम्बोधन गर्न चाहन्छौं। पहिला तपाईहरुले फरक खालको प्रयोग र अनुभव लिनुभयो होला, सहभागी हुन पनि भयो होला। तर हामी तपाईहरुलाई फरक ढंगबाट देखिनेगरी परिवर्तन महशुस गराउन चाहन्छौं।’