मौसम अपडेट: काठमाडौँसहित विभिन्न स्थानमा आज मध्यम वर्षा हुने

 संवाददाता    २०८३, १५ बैशाख मंगलवार १०:३९     15 जनाले पढ़िसके



Spread the love

हाल देशका हिमाली र पहाडी क्षेत्रका आकाशमा साधारणतया र बाँकी स्थानमा आंशिक बादल लागेको छ। अनि गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस क्रममा काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा सुरु भइसकेको मौसम महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए।

‘काठमाडौँको पानीपोखरीतिर हल्का पानी पर्न सुरु भएको छ’, उनले मंगलबार बिहान भने।

मौसमविद् पुडासैनीका अनुसार आज दिनभर काठमाडौँ उपत्यकाको मौसम पनि खुल्ने सम्भावना छैन। आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ।

‘निरन्तर वर्षा हुने त होइन’, उनले भने, ‘तर दिनभर बादल लाग्ने, बेलाबेला पानी पर्ने, रोकिने, फेरि पर्ने क्रम जारी रहने सम्भावना छ।’

आजका लागि यस्तो वर्षा प्रक्षेपण

दिउँसो: कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेसलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपात हुने सम्भावना छ।

राति: कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भेगमा अधिकांश बादल लाग्ने र तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोसी प्रदेशका धेरै स्थान र मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपात हुने सम्भावना छ। कोसी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा/हिमपात हुने सम्भावना छ।

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्