आज पनि सुनचाँदीकै मूल्य बढेको छ।
हिजो तोलामा २७ सय बढेको सुनको मूल्य आज तोलामा १३ सय रुपैयाँ बढेर ३ लाख ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो तोलामा २७ सय बढेर सुनको भाउ तोलाको २ लाख ९९ हजार २ सय रुपैयाँ पुगेको थियो।
यसअघि गएको बुधबार, बिहीबार र शुक्रबार भने सुनको भाउ घटेको थियो। सुनको भाउ शुक्रबार तोलाको २२ सय, बिहीबार १८ सय र बुधबार आठसय रुपैयाँ घटेको थियो।
त्यसैगरि आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँ बढेर ५ हजार ४५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार ९९५ रुपैयाँ थियो। हिजो पनि चाँदी तोलामा ५० रुपैयाँ बढेको थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।