जन्मदिनमा प्रधानमन्त्रीलाई पत्नीको शुभकामना

 संवाददाता    २०८३, १४ बैशाख सोमबार ११:०७     14 जनाले पढ़िसके



Spread the love

आज बालेन्द्र शाह (बालेन शाह) को जन्मदिन परेको छ । हाल प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका शाह ३७ वर्षमा प्रवेश गरेका छन् ।

यस अवसरमा उनकी पत्नी सविना काफ्ले ले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘सम्माननीयज्यूलाई जन्मदिनको हार्दिक शुभकामना ’

वि.सं. २०४७ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिएका शाह बाल्यकालदेखि नै मेहेनती र सिर्जनशील स्वभावका रूपमा चिनिँदै आएका छन् । उनका बुबा रामनारायण साह र आमा ध्रुवदेवी शाह हुन् । उनी परिवारका कान्छा छोरा हुन् भने उनको पुख्र्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा पर्छ ।

शैक्षिक रूपमा पनि शाह उत्कृष्ट मानिन्छन् । उनले काठमाडौंस्थित ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका हुन् । त्यसपछि उच्च शिक्षा हासिल गर्न भारत गएका उनले कर्नाटकस्थित विश्वेश्वरय्या प्राविधिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर पूरा गरेका छन् ।

इन्जिनियर मात्र नभई शाह नेपाली युवामाझ लोकप्रिय कलाकारका रूपमा पनि परिचित छन् । ‘बालेन’ नामबाट र्‍याप सङ्गीतमार्फत सामाजिक तथा राजनीतिक विषय उठाउँदै आएका उनी काठमाडौंको मेयर हुँदै प्रधानमन्त्री बनेका हुन् । युवापुस्तामा उनको प्रभाव उल्लेखनीय मानिन्छ ।

चैत्र १३ गते प्रधानमन्त्री पदमा नियुक्त भएका शाहले आफ्नो पहिलो एक महिना पनि पुरा गरिसकेका छन् ।

उनको जन्मदिनका अवसरमा सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ । समर्थक, सहकर्मी तथा सर्वसाधारणले देशको नेतृत्व गरिरहेका युवा प्रधानमन्त्रीप्रति सकारात्मक अपेक्षा राख्दै दीर्घायु, सफलता र उत्कृष्ट कार्यकालको कामना गरेका छन् ।