संसदीय दलको नेता चयनका लागि नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालकाअनुसार सोमबार बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो।
बैठकमा सहभागीताका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई निमन्त्रणा गरिएको छ। बैठकमा सभापति गगन थापासहितका पदाधिकारी पनि सहभागी हुँदैछन्।
आजको बैठकले कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्। बैठकमा सभापति गगनकुमार थापाले दलको नेताको नाम घोषणा गर्ने र सहभागीले त्यसलाई अनुमोदन गर्ने तयारी छ। तर यो प्रक्रियाप्रति इतर खेमाले भने आपत्ति जनाएको छ।
कार्यसम्पादन समितिको बैठक सकिए लगत्तै सोमबार दिउँसो कांग्रेसले संसदीय दलको पनि बैठक बोलाएका छ।
निर्वाचन सकिएको दुई महिना पुग्न लाग्दासमेत कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन। पार्टीमा सहमति हुन नसक्दा कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसकेको हो।
कार्यसम्पादन समिति बैठकमा सभापति थापाले घोषणा गरेको नामलाई नै संसदीय दलको बैठकबाट पनि अनुमोदन गराइने कांग्रेस सहमहामन्त्रीसमेत रहेका निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले जानकारी दिए।
कांग्रेसले यही वैशाख ११ गते निर्वाचन प्रक्रियामार्फत संसदीय दलको नेता छान्ने तयारी गरेको थियो। तर, अन्तिम समयमा प्रक्रिया नै सुरु नगरी बैठक स्थगित गरिएको थियो।
गत फागुन २१ को निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिकबाट ३८ सिट जितेको छ।
आकांक्षी धेरै हुँदा कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसकेको हो।
कांग्रेसमा मुख्यगरी अर्जुन नरसिंह केसी, भिष्मराज आङ्दाङ्बे र मोहन आचार्य संसदीय दलको नेताका आकांक्षी छन्।
नेता केसीले भने निर्वाचन हुने अवस्था आए आफूले उम्मेदवारी नदिने बताउँदै आएका छन्।