विस्थापितमध्ये २१४ परिवार मात्र सरकारको सम्पर्कमा

 संवाददाता    २०८३, १३ बैशाख आईतवार १५:३४     107 जनाले पढ़िसके



Spread the love

सरकारले आज पनि काठमाडौँ उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण क्षेत्रका सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ।

हिजो बाँकी रहेका संरचनाहरू भत्काउन र जग्गा खाली गर्न सरकारी टोली आइतबार बिहानैदेखि खटिएका छन्।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका- ८ स्थित गोठाटार बुद्धचोक र ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीका संचरना हटाएर खाली गरिएको छ।

बस्तीमा रहेका भौतिक संरचना भत्काउनुपूर्व त्यहाँ रहेका परिवारका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरेका प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ।

मनहराका संरचनाहरू भत्काइसकेपछि हिजो बाँकी रहेका काठमाडौँ-९ स्थित गैरीगाउँ र ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गरिने सरकारले जनाएको छ।

शनिबार काठमाडौँ ११ स्थित थापाथलीमा रहेको जग्गा खाली गरिएको थियो।

थापाथली क्षेत्रको जग्गा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा खाली गरिएको प्रधानमन्त्रीको सचिवालयको दाबी छ।

बस्तीहरू खाली गर्ने क्रममा हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका छन्। उनीहरूलाई तत्कालका लागि विभिन्न होटलहरूमा बसोबास र खानपानको व्यवस्था मिलाइएको छ।