रातभरि सुत्न नसकेको भन्दै शेखर गोल्छाको गुनासो, प्रहरी सक्रिय

 संवाददाता    २०८३, ११ बैशाख शुक्रबार १६:१०     7 जनाले पढ़िसके



Spread the love

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेको पहिलो रात निदाउन नसकेको गुनासो गरेका छन्।

शुक्रबार बिहानै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गराइएको छ ।

बिहीबार साँझ प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)को टोलीद्वारा पक्राउ गरिएका गोल्छालाई लाजिम्पाटस्थित सिआईबीकै हिरासतमा राखिएको थियो । स्वास्थ्यमा कुनै जटिलता रहेकोबारे प्रहरीले सोध्दा उनले केही भनेनन् । तर, रातभरि सुतेनन् ।

प्रहरीले हिरासतमा राखिएका व्यक्तिको सामान्य स्वास्थ्य परीक्षण गर्ने गरेको छ । त्यसअनुसार शुक्रबार विहानै उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगियो । फेरि म्याद थपको तयारीका निम्ति सिआईबीकै हिरासतमा फर्काइएको थियो ।

शुक्रबार राति उनले ‘सुत्न सकिनँ’ भनेपछि उनको सहजताका लागि एकजना इन्स्पेक्टरलाई खटाइएको थियो । ती इन्स्पेक्टरसँग पनि उनले खुलेरे केही बोलेनन् ।

सिआईबी प्रमुख एआईजी डा. मनोज केसीले यदि गोल्छाको स्वास्थ्यमा कुनै समस्या छ भने वीर वा शिक्षण अस्पतालमा उपचारका लागि लैजान सकिने बताए । तर, स्वयं गोल्छाले आफूलाई कुनै स्वास्थ्यसम्बन्धी असहजता भएको बताएका छैनन् ।

‘उहाँले केही भन्नुभएको छैन, तर नसुत्ने कुराले समस्या हुनसक्छ, त्यसैले हामी डाक्टरहरुसँग परामर्श गर्छौं’, डा.केसीले भने ।

मुद्दाको अनुसन्धानका लागि उनलाई अहिले केही समयमै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने तयारी छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा सिआईबीले उनलाई पक्राउ गरेको हो ।

उनीविरुद्धको मुद्दाको अनुसन्धान र अन्य प्रक्रिया सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट नै अगाडि बढाइने भएको छ । डा. केसीका अनुसार प्रहरीले हिरासतमा राख्ने काम मात्रै गरेको हो ।