झापाको दमक नगरपालिका-३ को वडा कार्यालयमा तोडफोड र आगजनीको प्रयास भएको छ।
गएराति वडा कार्यालयको राजस्व शाखामा तोडफोडपछि आगजनी प्रयास भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय, दमकका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले राजश्व शाखामा रकम फेला पार्ने लोभमा तोडफोड भएको बताए।
कार्यालयमा पैसा नभेटिएपछि आक्रोशित समूहले दराजको छेउमा रहेका केही महत्त्वपूर्ण कागजपत्रमा लाइटर प्रयोग गरी आगो लगाउने प्रयास गरेको फेला परेको छ। आगो लगाउने क्रममा केही कागजात जले पनि ठूलो क्षति नभएको डीएसपी लम्सालले बताए।
त्यही समयमा दमकको मुख्य चोकमा रहेको एउटा सुन पसलमा पनि चोरी भएको छ। वडा कार्यालयको नजिकै रहेको सुन पसलको सटरको ताला फुटाएर भित्र पसेका चोरहरूले त्यहाँबाट करिब चार आना सुन चोरी गरेको जानकारी आएको प्रहरीले जनाएको छ।
वडा कार्यालय र सुन पसल दुवै ठाउँमा एउटै समूहको संलग्नता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनापछि प्रहरीले सीसीटिभी फुटेजको अनुसन्धानका लागि प्राविधिक टोलीले परीक्षण थालेको छ।