कारागारभित्रको विवाद चर्किँदा २२ जना कैदीबन्दी नियन्त्रणमा

 संवाददाता    २०८३, ८ बैशाख मंगलवार १३:२९     13 जनाले पढ़िसके



Spread the love

सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएको छ। प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ।

कारागारको आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास गरेको आरोपमा उनीहरूलाई मंगलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुई दिनअघि कारागारका चौकीदार प्रेम चौधरीलाई केही कैदीको समूहले बाहिर निकालेका थिए।

उनीहरूले आन्तरिक व्यवस्थापन आफ्नो हातमा लिने प्रयास गरेपछि तनाव सुरु भएको थियो। कारागारभित्रै गुटबन्दी गरी अशान्ति फैलाउन खोजेपछि सुरक्षा निकायले हस्तक्षेप गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले कारागारको सुरक्षा र अनुशासन कायम राख्न प्रहरीले कारागारमा बिहानै ‘अप्रेसन’ चलाएको जानकारी दिए। ‘कारागारभित्र केही कैदीबन्दीले आन्तरिक प्रशासन आफ्नो नियन्त्रणमा लिने उद्देश्यले चौकीदारलाई निष्कासनको प्रयास गरेपछि सुरक्षा चुनौती बढेको थियो,’ डीएसपी पालले भने, ‘थप झडप हुन नदिन हामीले २२ जनालाई नियन्त्रणमा लिएका छौँ।’

नियन्त्रणमा लिएका कैदीबन्दीलाई सिरहा कारागारबाट अन्यत्र सार्ने तयारी भइरहेको छ। ‘उनीहरूलाई आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी अन्य कारागारमा स्थानान्तरणको तयारी भइरहेको छ,’ उनले भने।

यसअघि गत माघमा कारागारभित्रै कटुवा पेस्तोल र दुई राउन्ड गोली फेला परेपछि तत्कालीन चौकीदार इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिएर अन्यत्र सारिएको थियो। त्यतिबेला इन्द्रजितको पक्राउको विरोध गर्दै कैदीबन्दीले दुई दिनसम्म प्रदर्शनसमेत गरेका थिए।