उदयपुर आगलागी : २ जनाको मृत्यु, ६३ लाख बराबरको क्षति

 संवाददाता    २०८३, ८ बैशाख मंगलवार ११:०९     12 जनाले पढ़िसके



Spread the love

उदयपुरमा घरमा आगो लाग्दा दुई जनाको मृत्यु भएको घटनामा अन्दाजी ६३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नस्ट भएको छ।

चौदण्डिगढी नगरपालिका- ७ बेल्टारमा गएराति करिब सवा ३ बजेतिरबाट सुरु भएको आगलागीमा परी २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लक्ष्मी नारायण खड्का र उनका ३० वर्षीय नाती पवन खड्का रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए।

बेल्टारबजारस्थित शान्तिचोकका रवि कुमार दास र पदम खड्काको घरमा बिजुलिको तार सर्ट भएर आगलागी सुरु भएको हो। मृतकद्वय पदम खड्काका बुवा र छोरा हुन्।

राति सुतिरहेको अवस्थामा एक्कासी आगलागी हुँदा जलेर दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीमा परी अस्मिता खड्का घाइते भएकी छन्। उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ।

त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीले मंगलबार बिहान आगो नियन्त्रणमा लिएका छन्।

आगलागीबाट रबिन कुमार दासको काठको घर र किराना पसलसमेत जल्दा अन्दाजी २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

त्यसैगरि पदम खड्काको घर र चौपाया (२ वटा खसी) समेत जल्दा करिब ३१ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

त्यसैगरि पदम खड्काकै घरमा सञ्चालन हुँदै आएको मित्र थापा मगरको स्टेशनरी पसल जल्दा करिब ६ लाख, होमबहादुर परियारको ट्रेलर जल्दा करिब २ लाख, मैया पौडेलको चटपटे पसल र अन्य सामानहरू जल्दा अन्दाजी ४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुना साथ प्रहरी नायव उपरीक्षक निरन्जन थापाको कमाण्डमा प्रहरी टोली खटिएको थियो। प्रहरीसहितका सुरक्षाकर्मी, दमकल र स्थानीयको सहयोगमा मंगलबार बिहान ५ः३५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ।

मृतक लक्ष्मी नारायण खड्का र पवन खड्काको शव पोस्टमार्टमको लागि नगर अस्पताल बेल्टारको सव गृहमा राखिएको छ।