सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक हिलारी भनिने दावा शेर्पा आज बिहान गम्भीर बिरामी अवस्थामा भेटिएका छन् ।
सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी)का कामदाहरुले उनलाई आइसफल क्षेत्रबाट आधार शिविरतर्फ घस्रिदै आइरहेको अवस्थामा फेला पारेर उद्दार गरेको पर्यटन बोर्डका पूर्व सदस्य ङावाङिमा शेर्पाले जानकारी दिए । आरोही पर्यटकहरुको सहयोगीका रुपमा गएका ओखलढुंगा खिजिदेम्बा गाउँपालिकाका शेर्पा एक सातअघि आधार शिविर फर्किने क्रममा हराएका थिए । उनको खोजीका लागि सगरमाथाको तेस्रो शिविर आसपास हेलिकोप्टरबाट खोजी गर्दा समेत भेटिएका थिएनन् ।
उनी आज बिहान खुम्बु आइसफल क्रयाम्पन पोइन्ट छेउबाट आधार शिविरतर्फ घस्रिदै आएको अवस्थामा एसपीसीसीका कामदारले देखेर उद्दार गरेको कार्यकारी निर्देशक छिरिङ शेर्पाले जानकारी दिए । हिउँले खुट्टा र हात खाएको अवस्थामा भेटिएका उनलाई प्रारम्भिक उपचार र खाना दिइएको छ । उनको अवस्था स्थिर रहेको र हेलिकोप्टरबाट उद्दार गरिने बताइएको छ ।
पर्वतरोहण क्षेत्रका व्यक्तिहरुले उनी एक सातापछि जीवितै भेटिएको घटनालाई चमत्कार भनेका छन् ।