निजी सवारी साधनमा जोर–बिजोर लागू गर्नुपर्ने पुण्यप्रसाद सिटौलाको धारणा

 संवाददाता    २०८३, ७ बैशाख सोमबार १३:१९     9 जनाले पढ़िसके



Spread the love

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले दुई दिने बिदाले पेट्रोलियम पदार्थको खपत झन बढेकाले निजी सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्नुपर्ने बताएका छन्।

सरकारले पेट्रोलियम पदार्थ आपूर्ति सहज बनाउन सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि त्यसले रूपमा इन्धन खपत घटाउन नसकेको सिटौलाको भनाइ छ। ‘सरकारले सातामा दुई दिन बिदा दिने जुन निर्णय गर्‍यो यसले पेट्रोलियम पदार्थको खपतमा कमी आउनुको सट्टा बढी भएको छ,’ उनले भने।

सातामा दुई दिन सार्वजनिक बिदा दिँदा सरकारी कर्मचारी, विद्यार्थी, पेशाकर्मी लगायतले खपत घटाउनुको सट्टा झन धेरै खपत गरेको उनले बताए। सरकारले सातामा दुई दिन बिदा दिने निर्णयको समीक्षा गर्नुपर्ने उनको भनाइ छ।

‘सार्वजनिक निकायमा बिदा हुँदा विद्यार्थी, अभिभावक, पेशाकर्मी सबै बिलासी भएको कारणले यसले प्रभावकारी काम गर्न सकेन। एउटा मोटरसाइकल एउटा चारपाङ्ग्रे सवारी त धेरैको घरमा छ अहिले,’ सिटौलाले भने।

इन्धन खपत कम गर्न विद्युतीय बाहेकका निजी सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्न उनको सुझाव छ। इन्धन अभाव हुँदासम्म निजी सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्नसके सार्वजनिक यातायात र इन्धन आपूर्तिमा समेत सहज हुने सिटौलाले बताए।

‘यो विषयमा सरकारले समीक्षा गरिरहेकै होला। हामीले सुझाव दिने भनेको सरकारले निजी सवारी साधनमा जोर-बिजोर प्रणाली अस्ति नै लागू गर्नुपर्थ्यो,’ महासंघका कार्यवाहक अध्यक्ष सिटौलाले भने, ‘व्यक्तिले आफ्नो पैसाले पेट्रोलियम पदार्थ किने पनि पुँजी पनि बाहिर गइरहेको छ। अर्को कुरा आपूर्तिमा समेत असहजता भइरहेको छ।’

सार्वजनिक सवारी साधनको भाडा सरकारले समायोजन नगरे व्यवसायी चुप लागेर नबस्ने उनको चेतावनी छ।सार्वजनिक यातायातलाई प्रविधिमैत्री, क्यासलेस र जिपिएस प्रणालीमा लैजान आवश्यक रहेको उनले बताए।

‘वार्षिक रूपको समायोजन हुनुपर्ने भाडा पनि र भर्खरै २५ रुपैयाँ बढेको अवस्थामा बागमती प्रदेशले समायोजन गरेको अवस्था छ। अहिले वार्षिक रूपमा समायोजन हुने च्याप्टर क्लोज भइसक्यो,’ उनले भने, ‘दुई पटक २५ रुपैयाँ र ३० रुपैयाँ गरी ५५ रुपैयाँ डिजेलमा र पेट्रोलमा दुई रुपैयाँ घाटा छ। त्यो घाटाले गर्दा काठमाडौँ उपत्यका लगायत देशभरका मालवाहक तथा यात्रुवाहक सबै प्रकारका व्यवसायीहरु प्रभावित भएका छन्।’

अहिले पनि आयल निगममा स्वचालित प्रणाली रहेको र राति १२ बजेबाट सुरु हुने गरेको उल्लेख गरे। सडक यातायातमा पनि स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउन उनले आग्रह गरे।