पत्रकारसँगको विवादास्पद फोन संवादपछि सप्तरीका एसपी छानबिनमा

 संवाददाता    २०८३, ७ बैशाख सोमबार १२:१९     81 जनाले पढ़िसके



Spread the love

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम केसीमाथि छानबिन सुरू गरिएको छ । एक सञ्चारकर्मीसँगको फोन संवाद सामाजिक सञ्जालमा भाइरल भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले उनीमाथि छानबिन थालिएको थियो ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाका अनुसार एसएसपी कमल थापा संयोजक रहेको ५ सदस्यीय छानबिन समिति बनाइएको हो ।

थपलियाले भने, ‘एसपी केसी र एक व्यक्तिबीचको फोन संवाद बाहिरिएको छ, जसको व्यापक आलोचना भइरहेको छ । सोही विषयमा हामीले छानबिन अघि बढाएका छौँ ।’

सामाजिक सञ्जालमा भाइरल अडियोमा एसपी केसी र तिलाठी कोइलाडी गाउँपालिका-४ का सञ्चारकर्मी प्रह्लाद सिंह ‘विक्की’बीच संवाद भएको बताइएको छ । उक्त संवादमा एसपी केसीले राजविराज नगरपालिका-३ का मुस्तकिम आलमलाई लक्षित गर्दै गालीगलौज तथा धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिन्छ।

यता, आलमले सामाजिक सञ्जालमार्फत अन्यायविरुद्ध आवाज उठाउँदा आफूलाई एसपी केसीले फोनमार्फत धम्क्याएको आरोप लगाएका छन् ।

‘मलाई फसाउन उहाँले अरुमार्फत षड्यन्त्र गर्नुभएको छ । केही दिनअघि मलाई पनि फोन गरेर धम्क्याउनुभएको थियो’, आलम भन्छन् ।

यस विषयमा प्रतिक्रिया लिन पटक–पटक प्रयास गर्दा पनि एसपी केसीसँग सम्पर्क हुन सकेको छैन । मधेश प्रदेश प्रहरी कार्यालयले घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गरिने जनाएको छ ।