खण्डहर बनेको वीरगंजमा सफाइ सुरु, पीडितको ध्यान अब अदालतमा

 संवाददाता    २०८३, ७ बैशाख सोमबार ११:२७     49 जनाले पढ़िसके



Spread the love

सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथको हेटौँडा वीरगंज सडकका अतिक्रमित घर टहरा हटाउने अभियान अन्तर्गत आइतबार बिहानै वीरगंजमा घरटहरा भत्काएको छ ।

सरकारी कार्यालयका भवनमा समेत डोजर लगाएर चलाइएको अभियानमा १ हजार २ सय घर भत्किएपछि वीरगंज अस्तव्यस्त भएको छ । गण्डक क्षेत्रदेखि भन्सार क्षेत्रसम्मको ७ किलोमिटर क्षेत्रमा एकसाथ पाँच ठाउँबाट १० वटा डोजरले घर टहरा भत्काइएको हो ।

सडक डिभिजनले १ हजार २ सय ८५ घर भत्काउने भने पनि १ हजार २ सयको हाराहारीमा आइतबार घर भत्काएपछि सर्वसाधारणको सडकमा बास भएको छ । अर्कातिर भत्किएको धूलो, फोहोर र सामग्रीले बजार नै अस्तव्यस्त भएको छ ।

अस्तव्यस्त देखिएको वीरगंज बजार सरसफाइमा महानगरले काम सुरु गरेको छ । यता, ७ किलोमिटर क्षेत्रका सर्वसाधारण आज बिहानै बैठकमा जुटेका छन् र सरकारलाई मुद्दा दर्ता गर्ने छलफल भइरहेको बताइएको छ ।

‘२५–२५ मिटर नाप्न लागिरहेका छन्, ठाउँठाउँमा छलफल भइरहेको छ, सरकारलाई मुद्दा हाल्ने विषयमा सबै एकमत छन्,’ एक घरधनीले भने, ‘जिल्ला प्रशासन कार्यालय, वीरगंज महानगरपालिका र सडक डिभिजन कार्यालयलाई संयुक्तरुपमा मुद्दा हाल्ने कि भनेर छलफल भइरहेको छ ।’

घर भत्काइएपछि फोहोर हटाउन मजदुरको अभाव देखिएको छ भने अर्कातिर घरका सामानहरु चोर्ने क्रम बढेको छ । चोरको बिगबिगी भइरहेको छ । घर भत्किएका कारण आइतबारदेखि नै विद्युत् सेवा अवरुद्ध छ । विद्युत् नभएपछि पानीको चरम अभाव देखिएको छ । इन्टरनेट सेवा पनि प्रभावित भएको छ ।

नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले हिजोदेखि अवरुद्ध विद्युत सेवा सबैतिर लाइन जाँचपछि आज साँझसम्म सुचारु हुन सक्ने जनाएको छ ।