नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने भएको छ।
अनुशासन समितिको आज दिउँसो ३ बजे बस्ने बैठकले खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने भएको हो। कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरुङले खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने बताए।
कांग्रेस निवर्तमान कार्यवाहक सभापति खड्काको समूहले सर्वोच्च अदालतको फैसला स्वीकारेपछि स्पष्टीकरण फिर्ता लिन लागिएको उनको भनाइ छ। कांग्रेसले वैशाख २ गते खड्कालाई सात दिने स्पष्टीकरण सोधेको थियो।
गत २ माघमा थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्च अदालतले शुक्रबार आयोगको निर्णयलाई सदर गर्दै देउवा र खड्काले दायर गरेको रिट खारेज गरेपछि कांग्रेसमा सहमतिको प्रयास भइरहेको छ।
आइतबार साँझ सभापति थापाले खड्कालाई उनकै निवास गोल्फुटारमा पुगेर भेटेका थिए।