सञ्चारमन्त्रीको भनाइ: विकासका अधुरा काम ५ वर्षभित्र पूरा गरिने

 संवाददाता    २०८३, ६ बैशाख आईतवार १२:१९     10 जनाले पढ़िसके



Spread the love

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.बिक्रम तिमिल्सिनाले सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने तयारी गरिरहेको भनेर आएका समाचार पूर्णरूपमा भ्रामक र कपोलकल्पित रहेको दाबी गरेका छन्।

नुवाकोटको लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा स्थानीयसँगको भेटघाटका क्रममा तिमिल्सिनाले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिएको यस्तो सूचना सत्य नभएको उनले बताए।

‘यस्ता भ्रमपूर्ण सामग्रीले सरकारप्रति अनावश्यक अविश्वास सिर्जना गर्ने प्रयास भएको छ,’ उनले भने, ‘यस्तो सूचना गलत नियतका साथ फैलाइएको हुनसक्ने आशंका छ।’

उनले नागरिकलाई कुनै पनि सूचना साझा गर्नुअघि त्यसको सत्यता र स्रोतको विश्वसनीयता जाँच गर्न आग्रह गरे।

‘पुष्टि नभएका सूचना विश्वास गर्नु र फैलाउनुपूर्व त्यसको आधिकारिकता खोज्नु हामी हरेक सचेत नागरिकको जिम्मेवारी पनि हो,’ उनले भने।

वर्तमान सरकार नागरिकको करबाट सङ्कलित स्रोतसाधनको सदुपयोग गर्न प्रतिबद्ध रहेको तिमल्सिनाले बताए।

‘जनताको पैसाको कहीँकतै दुरुपयोग भएको देखिएमा नागरिकले खबरदारी गर्नुपर्छ,’ उनले भने, ‘हामीले सत्यमा आधारित प्रश्न गर्न छोड्न हुँदैन। यसले सरकारलाई पनि थप जिम्मेवार बनाउँछ। तर फैलिएका सबै सूचना सही हुन वा होइनन् भनेर चनाखो हुनुपर्छ।’

सरकारको प्राथमिकता नागरिकको जीवनस्तर सुधार र देशको समग्र विकासमा केन्द्रित रहेको उनले बताए।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार शून्य सहनशीलताको नीतिमा अघि बढिरहेको भन्दै उनले कुनै पनि प्रकारको अनियमितता वा पदको दुरुपयोग सह्य नहुने चेतावनी दिए।

‘प्रश्न उठ्ने बित्तिकै सरकारले छानबिन र आवश्यक कारबाही अघि बढाउने नीति अवलम्बन गरेको छ,’ उनले भने।

लोकतान्त्रिक व्यवस्थामा जनताको अपेक्षा र आवाजलाई केन्द्रमा राखेर काम गर्न सरकार प्रतिबद्ध रहेको तिमल्सिनाले बताए।

नागरिकलाई सहज सेवाप्रवाह, सुशासन र पूर्वाधार विकासका काममा विगतका वर्षहरूमा अपेक्षित रूपमा काम हुन नसकेको अवस्थामा अब परिणाममुखी ढङ्गले काम गर्ने समय आएको उनको भनाई थियो।

‘बोलेर होइन, काम गरेर देखाउने हाम्रो लक्ष्य हो । हामी अभिव्यक्तिभन्दा प्रमाण र परिणाममा विश्वास गर्छौं,’ उनले भने।

विकास प्रक्रिया क्रमिक हुने भएकाले तत्काल चमत्कारको अपेक्षा नगर्न आग्रह गर्दै उनले दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

‘सरकारले गाउँगाउँमा पुगेर नागरिकको प्रत्यक्ष आवाज सुन्ने र सोही आधारमा नीति तथा कार्यक्रम निर्माण गर्ने कार्यलाई प्राथमिकता दिएको छ,’ उनले भने।

नागरिकलाई सकारात्मक सुझाव र सहकार्यका लागि आह्वान गर्दै मन्त्री तिमल्सिनाले विगत २० वर्षमा पूरा हुन नसकेका विकासका काम आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताए।