हर्कको फेसबुक सस्पेन्ड भएपछि उठ्यो प्रश्न : रिपोर्टले मात्रै सम्भव छ ?

 संवाददाता    २०८३, ४ बैशाख शुक्रबार १२:१४     25 जनाले पढ़िसके



Spread the love

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड भएको छ । हर्क साम्पाङ अ रिभोलुसन नामक फेसबुक आइडी सर्च गर्दा अहिले भेटिदैन ।

श्रम संस्कृति पार्टीका उपमहासचिव समीर तामाङले रिपोर्ट भएकाले सस्पेन्ड भएको बताए । कसैले गरेको रिपोर्टकै आधारमा आइडी सस्पेन्ड नहुने साइबर सुरक्षाविज्ञ सौगात पोखरेल बताउँछन् । सौगातले भने, ‘रिपोर्टका आधारमा मात्र फेसबुक आइडी सस्पेन्ड हुने भए अमेरिका–इजराइल र इरान युद्धमा सबै सर्वोच्च नेताहरुको आइडी सस्पेन्ड भइसक्थे । इरानी जनताले इजरायल र अमेरिकाका प्रधानमन्त्रीको आइडीमा रिपोर्ट गर्थे तर रिपोर्टकै आधारमा आइडी सस्पेन्ड हुँदैन ।’

केही न केही भायोलेन्स गरेका कारण आइडी सस्पेन्ड हुनसक्ने साैगातले बताए । उनले थपे, ‘जे पायो त्यही शब्द प्रयोग गरेको छ भने एउटै रिपोर्ट काफी हुन्छ । हर्क सरको सन्दर्भमा यो बीचमा उहाँले काठमाडौँ-दार्चुला–धरान लगातार ओहोरदोहोर गरिरहनुभयो । यस्तो गतिविधिलाई पनि फेसबुकले शंकास्पद मान्छ । कतै उहाँले भीपीएन पो प्रयोग गर्नुभएको थियो कि ? भीपीएन प्रयोग गर्दा पनि फेसबुक उड्ने सम्भावना प्रवल भएर जान्छ ।’

के कारणले फेसबुक सस्पेन्ड भएको हो ? भन्ने जानकारी फेसकुबले प्रयोगकर्तालाई दिने गरेको सौगात बताउँछन् । पछिल्लो समय फेसबुकले प्रयोगकर्ताको गोपनीयतालाई सक्रिय बनाउँदै लगेको छ । उनका अनुसार नेपालमा बस्ने प्रयोगकर्ताले अमेरिकामा बस्ने अर्को प्रयोगकर्तालाई आफ्नो आइडी र पासवर्ड दिँदा पनि खुल्दैन । अचेल त नेपालमै पनि अर्को नयाँ मोबाइलमा फेसबुक आइडी र पासवर्ड लगईन गर्दा खुल्दैन, फेसबुक चलाइरहेको मोबाइलमा लगइन अलर्ट पठाउँछ । यसलाई कन्फर्म गरेपछि मात्र अर्को मोबाइलमा खुल्छ ।

कहिलेकाहीँ कुनै कुनै शब्द नेपालीमा नराम्रो नमानिने तर एआईले ट्रान्सलेट गर्दा नराम्रो अर्थ लाग्ने भयो भने पनि सस्पेन्ड हुनसक्ने सौगातले बताउँछन् । जस्तै कसैले ‘सुँगुर’ शब्द प्रयोग गर्यो, त्यो शब्दलाई अंग्रेजीमा ‘पिग’ भनिन्छ । अमेरिकामा कसैलाई होच्याउन, खिल्ली उडाउन र हेप्नलाई ‘पिग’ शब्द प्रयोग गरिने भएकाले पनि सस्पेन्ड हुनसक्ने साैगात बताउँछन् ।

सस्पेन्ड भएको आइडी रिकभर गर्ने आइडियाबारे सौगातले भने, ‘मेटाका एजेन्टहरुसँग कुरा गरेर आइडीलाई रिकभर गर्न सकिन्छ तर प्रहरीलाई रिपोर्ट गर्दा सिंगापुरस्थित अफिसबाट रिप्लाई आउन हप्तौं लाग्नसक्छ । रिप्लाई नआउन पनि सक्छ । रिप्लाई आउँदा कोर्टको अर्डर ल्याउ पनि भन्दिन्छ ।’

सौगातले थपे, ‘केपी ओली प्रधानमन्त्री हुँदा फेसबुकसहितका सामाजिक सञ्जाल नेपालमा सूचीकरण गराउन खोजेको थियो, हुन सकेन । यदि नेपालमा सूचीकरण भएको भए रिकभर गर्न सजिलो हुन्थ्यो । फ्याट्ट आइडी बन्द गरिदिँदा स्पष्टीकरण सोध्न सजिलो हुन्थ्यो ।’

फेसबुकमै डिपेन्डेन्ट भएर अनलाइन ब्यापार चलाइरहेको पेज फ्याट्ट बन्द भइदिँदा सम्पूर्ण व्यापार नै माया मार्नुपर्ने अवस्था रहेको सौगातले बताउँछन् । यस्तो संकटबाट बाहिर निकाल्नलाई फेसबुक नेपालमा सूचिकरण हुनुपर्ने सौगातको भनाइ छ ।

सौगातले भने, ‘हर्क सरले जे पयो त्यही लेखेकाले बन्द गरेको हो भने आइडी फिर्ता नआउन सक्छ तर सामान्य गल्ती मात्र हो भने फिर्ता आउन सक्छ ।’