कुलमानको निर्णयपछि रोकिएको सुनकोशी–मरिन निर्माण ४ महिनाभित्र सुरु गर्न निर्देशन

 संवाददाता    २०८३, ४ बैशाख शुक्रबार ११:४०     45 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको कामलाई अघि बढाउन आगामी साउनसम्ममा ठेक्का सम्झौता गरिसक्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले निर्देशन दिएका छन्।

यसअघिका ऊर्जामन्त्री कुलमान घिसिङको निर्देशनमा उक्त आयोजनाको निर्माणको ठेक्का गत ८ मंसिरमा तोडिएको थियो।

आयोजनाको बाँध (हेडवर्क्स), विद्युत् गृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडिएपछि आयोजनाको काम रोकिएको छ। अहिल सिँचाइ विभागले आयोजनाको मूल्याङ्कन गरिरहेको छ। ठेक्का तोडेपछि निर्माण व्यवसायीका सम्पूर्ण उपकरण, साइट कार्यालय, निर्माणस्थल आयोजनाले आफ्नो नियन्त्रणमा लिएको छ।

आयोजनामा अहिलेसम्म भएको काम, त्यहाँ रहेका उपकरण, बाँकी रहेका तथा थप गर्नुपर्ने कामलगायतको मूल्याङ्कन गरी लागत अनुमान तय गरी टेण्डरका कागजात बनाउने काम भइरहेको छ।

सिन्धुली र रामेछापको सीमानामा रहेको सुनकोशी नदीको पानीलाई बाँध बनाएर सुरुङमार्फत मरिण नदीमा खसाली बागमती सिँचाइ आयोजनामा पुयाउँने उद्देश्यसहित आयोजना निर्माण थालिएको थियो। उक्त आयोजना निर्माण सम्पन्न भएपछि धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको कूल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको छ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री श्रेष्ठ बिहीबार मातहतका निकायलाई ३२ बुँदे निर्देशन जारी गर्दै आगामी चार महिनाभित्रमा सुनकोशी–मरिन डाइभर्सन पुनः अगाडि बढाउनको लागि ठेक्का सम्झौता गर्न जलस्रोत तथा सिञ्चाई विभागलाई निर्देशन दिएका हुन्। ठेक्का सम्झौताको प्रक्रिया अघि बढाएर नियमितरुपमा मन्त्रालयलाई जानकारी गराउन मन्त्रि श्रेष्ठले निर्देशन दिएका छन्।

यसअघि निर्माणको जिम्मा पाएको पटेल—रमण जेभीले ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत समय सकिदा पनि भौतिक प्रगति भने करिब १० प्रतिशत मात्रै भएको थियो। आयोजनालाई तीब्र गतिमा अघि बढाउन र सम्झौताको प्रावधानअनुसार कामका सुधार गर्न सूचना जारी गर्दा समेत अटेर गरेको भन्दै त्यसबेला ठेक्का तोडिएको थियो।

ठेक्का सम्झौता रद्द भएसँगै पटेल—रमण जेभीले कार्यसम्पादन जमानत वापत राखेको २ अर्ब ४० करोड र अग्रिम भुक्तानीको १ अर्ब २० करोड गरी ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेण्टी जफत भएको छ।

आयोजना निर्माणका लागि पटेल—रमण जेभीसँग १४ अर्ब ८ करोड ८ करोड रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो। पटेल—रमण जेभीले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकम कबोल गरेर ठेक्का पाएको थियो। उनीहरुले २०७९ माघ बाट काम सुरु गरेका थिए। असार २०८४ भित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौता थियो।

उक्त आयोजना निर्माणको लागि सरकारले गत मंसिरसम्ममा २ अर्ब १४ करोड (करिब १५ प्रतिशत) रकम भुक्तानी गरेको थियो। आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो।

उक्त आयोजनामा १३.३ किलोमिटर टनेल बोरिङ मेसिनको प्रयोग गरी खनिएको छ। २६ वैशाख २०८१ मा सुरुङ छिचोलिएको थियो।
सुनकोशीको पानी मरिण नदीमा पथान्तरण गर्दा ३१ मेगावाटको जलविद्युत उत्पादन हुन्छ।