नेपाली कांग्रेसले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ।
प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिका सभापतिका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ। प्रतिनिधि सभाका १० वटा समिति छन् भने दुई वटा संयुक्त समिति छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लेखा समितिबाहेक सबै समितिको नेतृत्व आफैसँग राख्ने तय गरेको छ। लेखा समितिको सभापति श्रम संस्कृति पार्टीलाई दिने विषयमा छलफल चलिरहेको छ।
यस्तोमा कांग्रेसले लेखा समितिको सभापतिमा उम्मेदवारी दिने तय भएको कांग्रेस सांसद भीष्मराज आङदेम्बेले बताए। ‘लेखा समितिको सभापतिमा उम्मेदवारी दिन्छौँ। अन्य समितिबारे विपक्षी दलसँग छलफल गरेर तय गर्छौँ,’ आङदेम्बेले भने।
लेखा समितिमा कांग्रेस सांसदहरू भरत खड्का, मोहन आचार्य, योगेश गौचन र जनकराज गिरी सदस्य छन्। उनीहरूमध्ये एक जनालाई सभापतिको उम्मेदवार बनाउने तयारी गरिएको छ। कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लाग्न बाँकी रहेको आङदेम्बेले बताए।
आज दिउँसो १ देखि ४ बजेसम्म सपभातिमा उम्मेदवारी दर्ताको समय तोकिएको संघीय संसद् सचिवालयले जनाएको छ। आजै दिउँसो साढे ४ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ।
संसदीय समितिका सभापतिका लागि शुक्रबार निर्वाचन हुँदै छ। यसअघि सभामुख डोलप्रसाद अर्यालले चैत २७ गते प्रतिनिधि सभाका विषयगत समितिमा सदस्य तय गरेका थिए।