सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त रिटको पेसी तोकिएको छ। पेसी चौथो नम्बरमा परेको छ।
खड्कालाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी विनीता थापाले सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी थिइन्। यसअघि बुधबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको इजलासले खड्कालाई हिरासतमा राख्नुको कारण र सम्बन्धित कागजातहरू झिकाउन आदेश दिएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कालाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ। सर्वोच्चले बिहीबार साँझ ५ बजेभित्र यसबारे लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। विभागले जवाफ बुझाएसँगै अदालतले शुक्रबारका लागि अन्तिम सुनुवाइको पेसी तय गरेको हो।