राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा मात्र नभई देशको ‘आर्थिक इन्जिन’ का रूपमा स्विकार्नुपर्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको ७५ औँ वर्ष का अवसरमा शुक्रबार राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र सबल भए मात्र मुलुकको अर्थतन्त्रले गति लिने उल्लेख गरे।
राष्ट्रपति पौडेलले युवा जनशक्तिको विदेश पलायन (ब्रेन ड्रेन) प्रति चिन्ता व्यक्त गर्दै स्वदेशमै उद्यमशीलता र नवीनतार्फत अवसर सिर्जना गर्नुपर्ने बताए। राजनीतिक स्थिरता र स्पष्ट आर्थिक नीतिले मात्र लगानीको वातावरण बन्ने उनको तर्क थियो। सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले भने, ‘स्थिर सरकार, स्पष्ट नीति र दीर्घकालीन रणनीतिले मात्र औद्योगिक विकास र रोजगारी सिर्जनालाई गति दिन सक्छ। आजको युवा पुस्ता देशको भविष्य हो, उनीहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सके मात्र हामी प्रतिभा पलायन रोक्न सक्छौँ।’
परम्परागत शैलीभन्दा माथि उठेर डिजिटल अर्थतन्त्र, हरित विकास र स्टार्टअप संस्कृतिमा केन्द्रित हुन उनले व्यवसायीहरूलाई आग्रह गरे। चेम्बरले सात दशकभन्दा लामो समयदेखि आर्थिक समृद्धिमा पुर्याएको योगदानको प्रशंसा गर्दै उनले निजी क्षेत्रलाई राष्ट्र निर्माणको अभिन्न साझेदारका रूपमा अघि बढ्न आह्वान समेत गरे।