पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायरको तयारी गरिएको छ । विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करीको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्न लागेको हो ।
उक्त मुद्दामा महरासहित २८ जना र एक कम्पनीलाई प्रतिवादी बनाइएको स्रोतले बतायो । अख्तियारको टोली अभियोगपत्र लिएर विशेष अदालतमा आएको र मुद्दा दर्ता प्रक्रियामा रहेको प्रवक्ता कृष्णशरण लामिछानेले बताए ।
यसअघि महरालाई उच्च अदालत पाटनले सोही प्रकरणमा धरौटीमा छाड्न आदेश दिएको थियो ।
काठमाडौं जिल्ला अदालतले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा महरालाई सीआईबीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
२०७९ पुस १० गते गते Fly Dubai को Flight number FZ0587 बाट नेपाल आएका चिनियाँ नागरिक राहदानी LI HANSONG ले २ वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान भेप त्रिभुवन विमानस्थल हुँदै भित्र्याएको विषयमा अनुसन्धान हुँदै जाँदा महरा तानिएका हुन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्टोरमा नासु रेवन्त खड्का समेतको जिम्मा र संरक्षणमा राखिएको ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बराबरको सुन बेचबिखन गरी आपराधिक समूहमार्फत आपराधिक लाभ लिएको देखिएको सीआईबीले जनाएको छ ।