काठमाडौँ ।
नेपालको वर्तमान फौजदारी न्याय प्रणालीले अभियुक्तको संवैधानिक हक र मानव अधिकारको गम्भीर उल्लंघन गरेको जिकिर गर्दै सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दर्ता गरिएको छ। अधिवक्ता कुमार प्रसाद थपलियाले दायर गरेको उक्त रिटमा पक्राउ परेका व्यक्तिहरूलाई तत्काल सार्वजनिक गर्ने, तस्बिर र भिडियो बाहिर ल्याउने तथा दबाबमा बयान लिने विद्यमान शैलीलाई बदर गर्न ‘परमादेश’ लगायतका आवश्यक आदेशको माग गरिएको छ।
अधिवक्ता थपलियाले यसअघि २०८२ चैत ८ गते गृह मन्त्रालयमा यस विषयमा सुधारका लागि निवेदन दिए पनि कुनै सुनुवाइ नभएको र नयाँ सरकारका कार्यसूचीमा समेत यी गम्भीर मानव अधिकारका विषय नपरेकाले न्यायका लागि सर्वोच्च आउनु परेको बताएका छन।
”सरकार गठन भएको केही घण्टाभित्रै पुरानै शैलीमा अभियुक्तलाई सार्वजनिक गर्ने र हतारमा बयान असुल्ने प्रक्रियाले फौजदारी न्याय प्रणालीप्रतिको जनविश्वास धराशायी बनाएको छ,” रिट निवेदनमा भनिएको छ।
निवेदकले नेपालको संविधानको धारा ४६ र १३३ (२) (३) बमोजिम विपक्षीहरू नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र महान्यायाधिवक्ताको कार्यालयका नाममा उपयुक्त कार्यविधि जारी गर्न माग गरेका छन।