भ्रष्टाचारको आरोपमा सल्यान सीडीओ कार्यालयका कर्मचारी पक्राउ

 संवाददाता    २०८२, २५ चैत्र बुधबार १३:००     37 जनाले पढ़िसके



Spread the love

जिल्ला प्रशासन कार्यालय सल्यानको मुद्दा फाँटमा कार्यरत नायब सुब्बा निरज परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सेवाग्राहीसँग मुद्दा मिलाइदिने बहानामा रकम ‘बार्गेनिङ’ गरेको र नक्कली च्याट बनाएर चरित्र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

सुब्बा परियारलाई जिल्ला अदालत सल्यानले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनीविरुद्ध ठगी तथा साइबर अपराध कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

चैत २१ गते ‘जेनजी’ अगुवा युवराज खड्काले सामाजिक सञ्जालमार्फत प्रशासनकै कर्मचारीले सेवाग्राहीलाई दुःख दिने र आर्थिक चलखेल गर्ने गरेका थिए। त्यसको भोलिपल्ट खड्काले नै आफूलाई जोडेर सुब्बा परियारले नक्कली फेसबुक च्याट बनाई चरित्र हत्या गरेको दाबी गरेका थिए। खड्काका अनुसार प्रहरीसँग कुरा मिलाइदिने भन्दै पैसा लिएको झुटो म्यासेज खडा गरी उनलाई फसाउने प्रयास गरिएको थियो।

अडियोको तथ्य जाँच गरिँदै

यसैबीच, सुब्बा परियारले सेवाग्राहीसँग घुस मागेको दाबी गरिएको एउटा अडियो पनि सामाजिक सञ्जालबाट बाहिरिएको छ। उक्त अडियोमा ‘१ लाख २० हजार रुपैयाँ दिए मुद्दा मिल्ने’ र ‘नयाँ सिडिओ आए मिलाउन गाह्रो हुने’ भन्दै रकमको लेनदेनबारे कुराकानी भएको सुनिन्छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले अडियोको सत्यतथ्य जाँच गर्न साइबर ब्युरोसँग समन्वय भइरहेको बताए। ‘अडियो र च्याटका विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ,’ उनले भने।

प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले घटनालाई गम्भीरतापूर्वक लिइएको र दोषी देखिए जोकोहीलाई कारबाही हुने प्रतिबद्धता व्यक्त गरे।