त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली र वार्षिक परीक्षालाई असर नपर्ने गरी पठनपाठनको तालिका बनाउन आंगिक क्याम्पस र कलेजलाई निर्देशन दिएको छ।
सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्रिविले आंगिक क्याम्पस र विभागहरूलाई सेमेस्टर र वार्षिक परीक्षा प्रणालीअन्तर्गतका कक्षाको तोकिएको ‘क्रेडिट आवर’ नघट्ने गरी समय तालिका बनाउन भनेको हो।
त्रिवि कार्यकारी परिषदले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म दैनिक सात घण्टा र माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म दैनिक आठ घण्टा नघट्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएको छ।
कार्यकारी परिषद्ले आंगिक क्याम्पस र कलेजहरू, विभागहरू र अस्पतालबाहेक अन्य कार्यालय तथा निकायको हकमा कार्यालय समय बिहान ९ बजेदेखि ५ बजेसम्म हुने निर्णय गरेको छ। यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको कार्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म कायम गर्ने निर्णय गरेको छ।