नासाको ‘आर्टेमिस-२’ मिसनमा रहेका चार अन्तरिक्ष यात्री अहिलेसम्म कुनै मानिस नपुगेको पृथ्वीबाट सबैभन्दा टाढाको स्थानमा पुगेका छन्।
नासाका अनुसार ओरियन अन्तरिक्ष यानले पृथ्वीबाट सबैभन्दा टाढाको दूरी पार गर्दै मानवले ग्रहबाट यात्रा गरेको सबैभन्दा टाढाको दूरीको नयाँ रेकर्ड कायम गरेको हो।
नासाले यो दूरी २५२,७५६ माइल (४०६,७७१ किलोमिटर) रहेको जनाएको छ।
पृथ्वीबाट सबैभन्दा टाढाको दूरीको अघिल्लो रेकर्ड सन् १९७० मा अपोलो १३ ले बनाएको थियो।
उल्लेखनीय छ- नासाको पहिलो चन्द्रमा मिसन पचास वर्षभन्दा बढी समयपछि उडेको हो। ‘आर्टेमिस-२’ मिसनको रकेट फ्लोरिडाको केप क्यानाभेरलस्थित केनेडी स्पेस सेन्टरबाट उडेको थियो।
यो मिसन अप्रिल १ मा सुरु भएको थियो।
यो १० दिने मिसनका क्रममा अन्तरिक्ष यात्रीहरू चन्द्रमाको सतहमा अवतरण गर्ने छैनन्, यसको वरिपरि परिक्रमा गर्नेछन्।
यस अभियानले अन्तरिक्ष अन्वेषणमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ, जसले वैज्ञानिक अनुसन्धान, प्राविधिक विकास र अन्तर्राष्ट्रिय अन्तरिक्ष सहयोगलाई अझ सशक्त बनाउनेछ।
नासाले यो मिसनलाई सन् २०२८ मा मानवलाई चन्द्रमामा अवतरण गराउने दीर्घ योजनाअन्तर्गत महत्त्वपूर्ण परीक्षणका रूपमा लिएको छ।