नेपाली राजनीति र विकासको बहसमा एउटा शब्द निकै ‘भाइरल’ हुने गर्छ— स्विटजरल्याण्ड। धनगढीको मञ्चमा बालेनले होस् या काठमाडौँको मंचमा प्रचण्डले , हामीले अक्सर आधुनिकताको नाममा बाहिरी देशका मोडेलहरूको सपना देख्यौँ। तर बालेन जस्तो युवा र भिजनरी नेताबाट आम जनताले चाहेको विकास अलि फरक र मौलिक छ। हामीलाई काठमाडौँका चिल्ला सडक मात्र होइन, सुदूरपश्चिम र देशैभरिका विकट तर स्वर्गजस्ता गन्तव्य पुग्न दिगो,भरपर्दो,सुरक्षित र आम जनताको खल्तीले भ्याउने सार्वजनिक यातायात चाहिएको छ।
स्विटजरल्याण्ड त विकसित भैसकेको छ त्यहाको दृश्यले , हामीलाई झस्काउँछ किनकी हामीसंग स्विटजरल्याण्डभन्दा राम्रो आफ्नो देशको प्राकृतिक सौन्दर्यता देखाउन फराकिलो बाटो लगायतका पूर्वाधार छैन ।
उल्टै दशैंमा एकचोटि घरजाने नेपाली पुग्छ कि पुग्दैन पुग्यो भने फर्कन्छ कि फर्किदैंन भन्ने अवस्था छ ।धेरै दुर्घटनाका खबर सुन्नुपर्छ। नेपाल एउटा भौगोलिक विविधताले भरिएको सुन्दर देश हो। हामीलाई प्राकृतिक शान्त वातावरणमा रहेको मनोरम दृश्यावलोकन गर्ने पर्यटक भित्र्याउनु छ । पर्यटन बढाउनु छ।
बडिमालिकाको अलौकिक फाँट र खप्तडको शान्तिको सामिप्यता मा पर्यटकहरुलाई भुलाउनु छ। जसले आन्तरिक तथा वाह्य पर्यटक र पर्यटनले फड्को मार्नेछ।विकासको परिभाषा ठूला टावर मात्र हुन्थे भने आज विश्वका मानिसहरू नेपालका पहाड हेर्न आउने थिएनन्। तिमिले धनगढीमा भाषण गरेझैँ, हाम्रो प्राथमिकता आफ्नै प्रकृति र संस्कृतिलाई जोड्ने हुनुपर्छ।
आज पनि एक आम नेपालीले बडिमालिका वा खप्तड घुम्ने सपना देख्दा सबैभन्दा ठूलो अवरोध ‘यातायात’ बन्ने गर्छ।
निजी गाडी रिजर्भ नगरेसम्म ती ठाउँमा पुग्न कठिन छ। यात्रा महङगो छ। जसले गर्दा आम नेपालीको पहुंचबाट टाढा हुन्छ । अहिले सार्वजनिक सवारीको अवस्था र सडकको गुणस्तरले गर्दा यात्रा पनि जोखिमपूर्ण छ।
काठमाडौँबाट सिधै सुदूरका पर्यटकीय क्षेत्रसम्म पुग्ने भरपर्दो सरकारी वा निजी बस सेवाको ठूलो अभाव छ।
तिमिले काठमाडौँमा जसरी टुकुचा खोज्ने वा फुटपाथ व्यवस्थापन गर्ने हिम्मत देखायौ, त्यसरी नै राष्ट्रिय स्तरमा एउटा यस्तो प्रणालीको वकालत गरिदेउ जहाँ एउटा विद्यार्थी वा निम्न आय भएको व्यक्तिले पनि सस्तो र सुलभ सार्वजनिक यातायात चढेर सुदूरपश्चिमका यी पवित्र स्थलहरू पुग्न सकोस्।
यदि खप्तड र बडिमालिकामा भरपर्दो सार्वजनिक सवारीको पहुँच हुने हो भने:
स्थानीय अर्थतन्त्र बलियो हुनेछ। नेपाली पैसा विदेश (थाइल्याण्ड वा बाली) जानुको सट्टा आफ्नै देशको कुना-काप्चामा पुग्नेछ।
आन्तरिक पर्यटनले राष्ट्रिय एकता र भूगोलको बुझाइलाई थप प्रगाढ बनाउनेछ।
बालेन जी, तपाईँको कार्यकाल केवल सत्तामा बसेर बुझ्दाबुझ्दै नसकियोस। तपाईँको संघीय सरकारले र अन्य स्थानीय तहलाई पनि यो मार्गचित्र कोर्न बाध्य बनाओस् कि— नेपालको विकास भनेको आफ्नै पहाड र कन्दरासम्म पुग्ने दिगो,भरपर्दो,सुलभ, वातावरणमैत्री र जनताको खल्ती मैत्री सार्वजनिक यातायात प्रणालीको बिकास नै हो
बाली र थाईल्यण्ड सिंगापुर तथा अन्य अरु थुप्रै देश जाने नेपाली पर्यटक रोकेर, आफ्नै देशको बडिमालिका र खप्तड सजिलै घुमाउने दिन आए, त्यो नै तिम्रो कार्यकालको सबैभन्दा ठूलो सफलता हुनेछ। र अन्त्यमा भन्न चाहन्छु बालेन नेपालीले बडिमालिका, रामारोशन, खप्तड, लाङटाङ अन्नपूर्ण आदि नसुनेका हैनन सर्वसुलभ,सुरक्षित,भरपर्दो दिगो,खल्तीले भ्याउने सार्वजनिक यातायात प्रणाली सरकारले आज सम्म व्यवस्था नगरेर जान नपाएका हुन।
तिमिले गरेको विकासको मानक यो लेखकले आउने ५ वर्षभित्र बडिमालिका र खप्तड सार्वजनिक सवारी चढेर जाने कुराले बताउने छ।