विश्वभर अप्रिल २ तारिखका दिन मनाइने ‘विश्व अटिजम सचेतना दिवस’ यस वर्ष पनि नेपालमा विभिन्न चेतनामुलक कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्र संघले यस वर्षका लागि “Celebrate difference, Autism and Humanity-Every Life has Value” (विविधताको उत्सव मनाऔँ, अटिजम र मानवता- हरेक जीवनको मूल्य छ) भन्ने नारा तय गरेको छ।
अटिजम केयर नेपाल सोसाइटी (ACNS) ले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि १९औँ विश्व अटिजम सचेतना दिवसको अवसरमा साताव्यापी कार्यक्रमहरू आयोजना गर्ने जानकारी दिएको छ।
अटिजम भएका व्यक्तिहरूको अधिकार र उनीहरूको अवस्थाबारे समाजलाई बुझाउन सडक नाटक तथा विभिन्न सञ्चार माध्यमबाट ‘टल्क शो’ हरू सञ्चालन गरिनेछ। भोलि जावलाखेलको ललित मण्डप प्राङ्गणमा अटिजम भएका बालबालिकाहरूको कला प्रदर्शनी (Art Exhibition) र युवाहरूको सहभागीतामा फ्ल्यास मब (Flash mob) आयोजना गरिनेछ।
विश्वव्यापी रूपमा चल्दै आएको ‘लाइट इट अप ब्लु’ (Light It Up Blue) अभियान अन्तर्गत घर तथा कार्यालयहरूमा निलो बत्ती बालेर अटिजमप्रति समर्थन जनाइनेछ।
यस वर्ष विशेष गरी अटिजम भएका व्यक्तिका दाजुभाइ-दिदीबहिनी (Siblings) को भूमिका र उनीहरूले भोग्नुपरेका चुनौतीहरूलाई उजागर गर्न विशेष ‘पडकास्ट’ हरू सार्वजनिक गरिनेछ। april awareness अन्तर्गत यो अप्रिल महिनाभर विभिन्न कार्यक्रम गर्ने सोसाइटीले जनाएको छ।
सन् २०२१ को सीडीसी (CDC) को तथ्याङ्कअनुसार हरेक ३१ मध्ये १ बच्चामा अटिजमको अवस्था देखिएको छ। नेपाल अटिजम केयर सोसाइटीका अनुसार, अटिजम मस्तिष्कको बनावटमा हुने विविधता (Neurodivergent condition) हो। यसलाई समयमै पहिचान गरी सही तालिम र मार्गनिर्देशन दिन सकेमा अटिजम भएका व्यक्तिहरूलाई पनि रोजगारी र समाजको मूल प्रवाहमा समावेश गराउन सकिन्छ।
अटिजम केयर नेपाल सोसाइटीले सन् २००८ देखि नै अटिजमको क्षेत्रमा काम गर्दै आएको छ। “यदि हामीले उनीहरूको विशिष्ट क्षमता र विविधतालाई चिन्न सक्यौँ भने मात्र एउटा सकारात्मक समाज निर्माण गर्न सक्छौँ,” केयरकि अध्यक्ष डा सुनिता मलेगु अमात्यले भनिन। अटिजम भएका बालबालिकालाई परिवार र समाजको बोझ नभई सक्रिय सदस्य बनाउन समयसापेक्ष हस्तक्षेप र सामाजिक स्वीकार्यता अनिवार्य रहेको कुरामा जोड दिइएको छ।