शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सहभागी विद्यार्थीहरूलाई दिए शुभकामना

 संवाददाता    २०८२, १९ चैत्र बिहीबार १०:२६     37 जनाले पढ़िसके



Spread the love

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आजदेखि एसईई परीक्षामा सहभागी विद्यार्थीहरूलाई सफलताका लागि शुभकामना दिएका छन्।

बिहीबार बिहान ८ बजे एसईई सुरु भइसकेपछि शिक्षामन्त्री पोखरेलले फेसबुकमा स्टाटस लेख्दै परीक्षार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका हुन्।

‘आज सुरु एसईईमा सहभागी सबै विद्यार्थीहरूलाई हार्दिक शुभकामना’, उनले लेखेका छन्, ‘याद राख्नुहोस्, यो अन्तिम होइन, तपाईंको यात्राको एउटा महत्वपूर्ण सुरुवात मात्र हो।’

यस क्रममा शिक्षामन्त्री पोखरेलले परीक्षामा सहभागी हुँदा डर वा तनाव नलिई धैर्यताका साथ उत्तर लेख्न र सकेसम्म राम्रो गर्न सुझाव पनि दिएका छन्।

‘परीक्षा भनेको जीवनको एउटा सानो हिस्सा मात्र हो, त्यसैले डर वा तनावले आफूलाई हाबी हुन दिनु हुँदैन। तपाईंहरूले वर्षभरि गरेको मिहिनेत, त्याग र तयारी नै आजको सबैभन्दा ठूलो शक्ति हो’, उनले लेखेका छन्, ‘नयाँ वातावरण वा दबाबका बिच पनि शान्त रहनुहोस् र आफूमा विश्वास राख्नुहोस्। धैर्यताका साथ प्रश्नहरू समाधान गर्नुहोस् र सक्दो राम्रो प्रयास गर्नुहोस्। अरूसँग तुलना गर्न होइन, आफ्नै प्रगति र आत्मविश्वासका लागि परीक्षा दिनुहोस्।’

यस्तै शिक्षामन्त्री पोखरेलले सफलताका लागि इमानदारी, अनुशासन र आत्मविश्वास सबैभन्दा महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्।

उनले अगाडि भनेका छन्, ‘तपाईंले गरेको प्रयास कहिल्यै खेर जाँदैन।’

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार देशभर तोकिएका परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एसईई परीक्षा भइरहेको छ।

यस वर्ष एसईई परीक्षार्थीको संख्या ५ लाख १२ हजार ४२१ छ। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना छन्।

यस वर्षको एसईई परीक्षार्थीमा छात्राको सङ्ख्या बढी छ। २ लाख ५७ हजार ६१३ छात्रा हुँदा छात्रको संख्या २ लाख ५४ हजार ८०१ छ।‍ अन्य ७ जना छन्।

जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन्।

परीक्षाका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

परीक्षा सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको परीक्षा बोर्डले जनाएको छ।

तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

यस वर्ष परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरिसक्ने योजना छ।

यसैगरी ‘मार्कस्लिप प्रिन्ट’ गरी ‘ट्याब’मा चढाई खाममा ‘सिलबन्दी’ गरी गोप्य र सुरक्षित रूपमा शिक्षा विकास तथा समन्वय एकाइमा तीन दिनभित्र बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ।

केन्द्रले प्राप्त हुने उत्तरपुस्तिकामा ‘प्याकेट’ तोकिएको ढाँचामा लगत खडा गरी राख्नेछ। तत्पश्चात् सिलबन्दी खाममा परीक्षा केन्द्र र विषय उल्लेख गरेर परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) मा पठाउनुपर्नेछ।

शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२ मा परीक्षा समाप्त हुने समयमा तोकिएका परीषकहरू परीक्षण केन्द्रमा पुगिसक्नुपर्ने प्रबन्ध गरिएको छ।

सम्बन्धित विद्यालयको उत्तरपुस्तिका नपर्ने गरी परीक्षक र संपरीक्षक व्यवस्था गर्नुपर्नेछ। नतिजा प्रकाशनलाई प्रदेशगत रूपमा पनि प्रकाशन गर्न सकिने व्यवस्था गरिएको छ।

उत्तरपुस्तिका परीक्षक र संपरीक्षकलाई परीक्षण केन्द्रमा नै रहेर परीक्षण गर्न भनिएको छ।

परीक्षण केन्द्र रहेको विद्यालय भवनको सम्भव भएसम्म सिसिटिभी जडान भएको सुरक्षित कक्षमा परीक्षण र संपरीक्षण गराउने व्यवस्था गरिएको छ भने परीक्षण केन्द्रबाट उत्तरपुस्तिका बाहिर लैजाने, तोकिएका परीक्षकको सट्टामा अन्यले परीक्षण गर्ने, तोकिएको योग्यता नपुगेका शिक्षकले परीक्षण गर्ने, उत्तरपुस्तिकाको पोका हराउन वा मिसिन सक्ने जस्ता अनियमितता रोक्ने प्रबन्ध गरिएको छ।

परीक्षक र संपरीक्षकले परीक्षण कक्षमा मोबाइललगायतका विद्युतीय उपकरण ल्याउन नहुने निर्देशिकामा उल्लेख छ।

परीक्षा भएकै दिन परीक्षक र संपरीक्षकलाई बुझाइने, परीक्षणमा लापर्वाही गरेको पाइएमा लापर्वाहीको मात्रा हेरी पुनः परीक्षण गराउने, पारिश्रमिक कट्टा गर्ने वा परीक्षकको सूचीबाट नाम हटाउने, अन्य अमर्यादित कार्य गरेमा प्रचलित कानुनबमोजिम विभागीय कारबाहीसमेत गर्ने निर्देशिकामा उल्लेख गरिएको छ।

सामूहिक अनुगमन निषेध यस वर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ।

परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि सामूहिक अनुगमनमा रोक लगाइएको हो।

अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ।

सामूहिक अनुगमन निषेध

यस वर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ।

परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि सामूहिक अनुगमनमा रोक लगाइएको हो।

अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ।

यस्तै, चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ।