विशेष रिपोर्ट : इरान ‘खतरनाक’ कि ? पश्चिमा हस्तक्षेपको शिकार ? ७० वर्षको लुकाइएको इतिहास

 #अन्तरास्ट्रिय     २०८२, १६ चैत्र सोमबार ०७:२५     44 जनाले पढ़िसके



Spread the love

धिरज दाहाल काठमाडौँ — जब कसैले इरानलाई ‘खतरनाक’ भन्छ र उसलाई रोक्नुपर्ने तर्क गर्छ, तब इतिहासका केही यस्ता पानाहरू पल्टाउनु जरुरी हुन्छ जुन प्रायः मूलधारका सञ्चारमाध्यमले देखाउँदैनन्। इरानको वर्तमान अवस्था र पश्चिमा मुलुकहरूसँगको टकराव बुझ्न सन् १९०१ देखिको घटनाक्रम हेर्नु आवश्यक छ।

तेलको राजनीति र प्रजातन्त्रको हत्या

सन् १९०१ मा एक बेलायती व्यवसायीले इरानको तेलमाथि एकाधिकार जमाए। सन् १९०८ मा तेल भेटिएपछि ‘एंग्लो-इरानीयन आयल कम्पनी’ (जो अहिले BP को नामले चिनिन्छ) स्थापना भयो। इरानको आफ्नै प्राकृतिक स्रोतबाट इरानले भने अत्यन्तै कम हिस्सा मात्रै पाउँथ्यो।

सन् १९५१ मा इरानका लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसादेघले संसदबाट सर्वसम्मत रूपमा तेल उद्योगको राष्ट्रियकरण गरे। यो पूर्ण रूपमा कानुनी र संवैधानिक थियो। तर, बेलायत र अमेरिकालाई यो स्वीकार्य भएन। फलस्वरूप, १९५३ मा अमेरिकी खुफिया एजेन्सी CIA (अपरेशन अजयक्स) र बेलायती MI6 ले कू गरेर मोसादेघलाई पदच्युत गरे र पश्चिमा पक्षधर तानाशाह ‘शाह’ लाई सत्तामा फर्काए।

दमनको २६ वर्ष र १९७९ को क्रान्ति

सन् १९५३ देखि १९७९ सम्म शाहले इरानमा एकतन्त्रीय शासन चलाए। उनको क्रुर गुप्तचर निकाय ‘साभाक’ (SAVAK) लाई CIA र इजरायली मोसादले तालिम दिएका थिए, जसले हजारौँ राजनीतिक विरोधीहरूको हत्या र यातना दियो। त्यसबेला इरान र इजरायल निकट सहयोगी थिए, किनकि तानाशाह पश्चिमाहरूको इसारामा चल्थे।

सन् १९७९ मा इरानी जनताले शाहको विरुद्धमा विद्रोह गरे। आज अमेरिकाले भन्ने गरेको ‘बन्धक संकट’ वास्तवमा त्यही राजदूतावास विरुद्धको आक्रोश थियो, जहाँ बसेर CIA ले १९५३ को ‘कू’ को योजना बुनेको थियो। ब्रिटानिका इन्साइक्लोपिडियाले नै स्वीकार गरेको छ कि— १९५३ को कू नै १९७९ को इस्लामिक क्रान्तिको बीउ थियो।

मध्यपूर्वको द्वन्द्व: को हो आक्रामक?

अहिले इरानमाथि लगाइने विभिन्न आरोपहरूको जरा पश्चिमा हस्तक्षेपमै जोडिएको छ:

• इराक युद्ध: अमेरिकाले सन् २००३ मा ‘आम विनाशकारी हतियार’ भएको झुटो दाबी गर्दै इराकमा आक्रमण गर्‍यो, जसमा १० लाखभन्दा बढी नागरिक मारिए।

• हिजबुल्लाह: सन् १९८२ मा इजरायलले लेबनानमा आक्रमण गरेपछि त्यसको प्रतिरोधका लागि हिजबुल्लाहको जन्म भएको हो।

• हुथी विद्रोही: यमनमा अमेरिका समर्थित साउदी गठबन्धनले वर्षौंसम्म बमबारी गरेर विश्वकै खराब मानवीय संकट निम्त्याएपछि यो समूह शक्तिशाली भएको हो।

• परमाणु कार्यक्रम: इरानले परमाणु अप्रसार सन्धि (NPT) मा हस्ताक्षर गरेको छ र निरीक्षण स्वीकार गरेको छ। तर, इजरायलसँग घोषित रूपमै परमाणु हतियार छ र उसले कुनै सन्धि मानेको छैन।

हमास र इजरायलको सम्बन्ध

लेखक एन्स्लेका अनुसार, हमासको उदयमा पनि इजरायलको हात छ। पूर्व इजरायली अधिकारी एभ्नर कोहेनले सन् २००९ मा वाल स्ट्रिट जर्नलसँग भनेका थिए— “हमास इजरायलकै सिर्जना हो।” प्यालेस्टिनी मुक्ति संगठन (PLO) को धर्मनिरपेक्ष शक्तिलाई कमजोर पार्न र स्वतन्त्र प्यालेस्टाइन राज्य बन्न नदिन इजरायलले नै सुरुमा हमासलाई सहयोग र कोष उपलब्ध गराएको थियो।

पहिलो मुक्का कसले हान्यो ?

जब कसैले तपाईंलाई ७० वर्षसम्म मुक्का हानिरहन्छ— तपाईंको सरकार ढाल्छ, तानाशाह लाद्छ, तपाईंको तेल लुट्छ र तपाईंको अर्थतन्त्र ध्वस्त पार्छ— अनि तपाईंले प्रतिकार गर्दा तपाईंलाई ‘हिंसक’ भन्नु कति न्यायसंगत छ?

यो इरानको वर्तमान कट्टरपन्थी शासनको बचाउ होइन, तर यो शासनको उदय हुनुमा पश्चिमा मुलुकहरूले सिर्जना गरेको परिस्थितिको ठुलो भूमिका छ। अर्बपतिहरूले सञ्चालन गरेका मिडिया हाउसहरूले देखाउने प्रोपागान्डा भन्दा बाहिर निस्केर इतिहास हेर्ने हो भने सत्य अर्कै देखिन्छ।

एन्ड्र्यू स्टर्लिंग एन्स्लेको लेखमा आधारित