मस्को, मार्च २०२६ — विश्वभरका लाखौँ क्यान्सर बिरामीहरूका लागि एउटा ठूलो आशाको किरण देखा परेको छ। रुसको गामालया नेशनल रिसर्च सेन्टर (Gamaleya Center) का वैज्ञानिकहरूले एउटा यस्तो व्यक्तिगत mRNA क्यान्सर खोप विकसित गरेका छन्, जसले क्यान्सर उपचारको परिभाषा नै बदल्ने सङ्केत दिएको छ।
यो खोपले बिरामीको आफ्नै प्रतिरक्षा प्रणाली (Immune System) लाई शरीरभित्र लुकेर बसेका क्यान्सर कोषहरू पहिचान गरी तिनलाई नष्ट गर्न तालिम दिनेछ।
उपचारको नयाँ पद्धति: ‘थेराप्युटिक’ खोप
यो खोप सामान्य फ्लू वा कोभिड-१९ को खोपजस्तो रोग लाग्नबाट बचाउने (Preventive) नभई, क्यान्सर भइसकेका बिरामीहरूको उपचारका लागि प्रयोग गरिने ‘थेराप्युटिक’ (Therapeutic) खोप हो।
यसको मुख्य उद्देश्य शरीरको प्राकृतिक सुरक्षा बललाई क्यान्सर विरुद्ध सक्रिय बनाउनु हो।
‘ट्युमर पासपोर्ट’: कसरी काम गर्छ यो प्रविधि?
वैज्ञानिकहरूले यस प्रक्रियालाई ‘ट्युमर पासपोर्ट’ (Tumor Passport) नाम दिएका छन्। यसका मुख्य चरणहरू यस प्रकार छन्:
• बायोप्सी र सिक्वेन्सिङ: प्रत्येक बिरामीको क्यान्सर फरक हुने भएकाले, बिरामीको ट्युमर र स्वस्थ तन्तुको नमुना लिएर आनुवंशिक अनुक्रम (Genetic Sequencing) गरिन्छ।
• AI द्वारा पहिचान: आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग गरी क्यान्सर कोषिकामा मात्र पाइने विशेष उत्परिवर्तन वा ‘नियोएन्टिजेन्स’ पत्ता लगाइन्छ।
• mRNA निर्देशन: पहिचान गरिएका ती मार्करहरूका आधारमा एउटा कस्ट्युम-मेड mRNA तयार पारिन्छ। यसले शरीरमा ‘वान्टेड’ पोष्टरले जस्तै काम गरी ‘किलर’ टी-कोषहरूलाई क्यान्सर कोषहरू मात्र खोजेर मार्न निर्देशन दिन्छ।
कुन-कुन क्यान्सरमा प्रभावकारी छ त?
हाल यो कार्यक्रमले मुख्यतया निम्न क्यान्सरहरूलाई प्राथमिकतामा राखेको छ:
१. मेलानोमा (छालाको क्यान्सर): यो यस कार्यक्रमको प्रमुख लक्ष्य हो, जसलाई क्लिनिकल प्रयोगका लागि अनुमति दिइसकिएको छ।
२. कोलोरेक्टल क्यान्सर (आन्द्राको क्यान्सर): प्रारम्भिक अध्ययनहरूमा ट्युमर घटाउन निकै प्रभावकारी देखिएपछि यसलाई पनि अनुमति दिइएको छ।
३. अन्य परीक्षणहरू: फोक्सो (NSCLC), प्यान्क्रियाज, मस्तिष्क (ग्लियोब्लास्टोमा), मृगौला र ब्लाडर क्यान्सरका लागि पनि उन्नत स्तरका मानव परीक्षणहरू भइरहेका छन्।
७ दिनमै खोप तयार हुने लक्ष्य
यो प्रविधिको सबैभन्दा ठूलो सबल पक्ष यसको निर्माण गति हो। AI को सहयोगले अब बिरामीको बायोप्सी गरेको मात्र ७ दिनभित्र खोपको व्यक्तिगत खुराक तयार गर्ने लक्ष्य राखिएको छ।
मार्च २०२६ मा रुसी स्वास्थ्य मन्त्रालयले गरेको घोषणा अनुसार, यो खोपलाई अनिवार्य चिकित्सा बीमामा समावेश गरिनेछ, जसले गर्दा योग्य नागरिकहरूका लागि यो उपचार निःशुल्क उपलब्ध हुनेछ।
किन यसलाई ‘स्नाइपर’ भनिएको हो?
परम्परागत केमोथेरापी एउटा ‘कार्पेट बम’ जस्तै हो, जसले क्यान्सर कोषिकाहरूसँगै शरीरका स्वस्थ कोषहरूलाई पनि नष्ट गर्छ र कपाल झर्ने जस्ता साइड इफेक्टहरू निम्त्याउँछ। तर यो mRNA खोप एउटा ‘स्नाइपर’ जस्तै हो, जसले स्वस्थ कोषहरूलाई हानि नगरी केवल क्यान्सर कोषहरूलाई मात्र निशाना बनाउँछ।