मोरङका चारवटा स्थानीय तहमा रहेका कुखुरा फार्महरूमा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाएको छ।
सुन्दरहरैँचा नगरपालिका वडा नं. ४, उर्लाबारी नगरपालिका वडा नं. ८, कटहरी गाउँपालिका वडा नं. ६ र विराटनगर महानगरपालिका वडा नं. ४ मा रहेका फार्महरूमा यो रोगको संक्रमण देखिएको हो।
संक्रमण पुष्टि भएसँगै बर्ड फ्लु नियन्त्रण नियमावली २०७८ बमोजिम प्रभावित क्षेत्रहरूको चारै दिशा तर्फ २० मिटर सम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी नियन्त्रणका कार्यहरू अगाडि बढाइएको छ।
यो रोग मानिसमा समेत सर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले संक्रमण देखिएका पालिकाहरूबाट पन्छी तथा पन्छीजन्य सामग्रीहरू अण्डा, दाना, फोहर र कुखुराको सुलीको आयात, निर्यात तथा ओसारपसारमा अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रोक लगाएको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाले एक सूचना जारी गर्दै जिल्लाबासी, कृषक, व्यवसायी तथा उपभोक्ताहरूलाई आवश्यक सतर्कता अपनाउन र नियन्त्रण अभियानमा सहयोग तथा समन्वय गर्न आग्रह गरेका छन्।
संक्रमण थप फैलिन नदिन र जनस्वास्थ्यको सुरक्षाका लागि प्रशासनले यस्तो कडा कदम चालेको जानकारी दिँदै कोइरालाले फार्ममा असामान्य रूपमा पन्छी मरेमा तत्काल जानकारी गराउन समेत अपिल गरेका छन्।