राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई स्वीकृति बेगर गरिएको निर्वाचन मान्य नहुने चेतावनी दिएको छ।
एन्फाले निर्वाचनका लागि राखेपको स्वीकृति र प्रतिनिधित्वका लागि गरेको आग्रहबारे जवाफ दिँदै राखेपले यस्तो चेतावनी दिएको हो।
‘परिषदसँग कुनै प्रकारको समन्वय समेत नगरी संघको निर्वाचन सम्बन्धी तालिका प्रकाशन गरेको हुँदा प्रचलित कानून बमोजिमको प्रकृया पुरा नहुँदासम्म संघको साधारण सभा तथा निर्वाचन सम्बन्धी कार्य स्थगित गर्न’ गत फागुन २५ गते पत्राचार गरिएको राखेपले स्मरण गराएको छ।
राखेपले विभिन्न मितिहरूमा परिषदबाट भएका निर्देशन कार्यन्वयन नगरी नियमावलीको नियम ७ को (ग) बमोजिम स्वीकृती नलिई हुने निर्वाचनले कानुन बमोजिम मान्यता प्राप्त गर्न नसक्ने स्पष्ट पार्दै प्रचलित कानुन बमोजिम स्वीकृति लिएर मात्र निर्वाचन सम्बन्धी प्रकृया गर्ने गरी संघको साधारण सभा (अर्डनरी कंग्रेस) तथा निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यहरु स्थगित गरी ३ दिन भित्र राष्ट्रिय खेलकुद परिषदलाई लिखित जानकारी गराउन राखेपले भनेको छ।
राखेपले पटक पटकको छलफल तथा निर्देशन कार्यान्वयन नगरी प्रचलित कानुन विपरित कार्य गरेको भन्दै एन्फालाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
‘अन्तर्राष्ट्रिय संस्था (फिफा र एफसी) बाट प्राप्त निर्देशनलाई आधार मानेर प्रचलित राष्ट्रिय कानुनको कार्यान्वयन र पालना गर्ने विषयमा नियामक निकायसँग पटक पटक भएको छलफल र निर्देशनको परिपालना नगरेको हुँदा परिषदको कार्यकारी समितिको मिति २०८२/१२/०९ को बैठकबाट ऐनको दफा २८ को (ड) र दफा २९(१) बमोजिम भएको निर्देशन कार्यान्वयन नगरी प्रचलित कानून विपरित कार्य गरेको हुँदा ऐ ऐनको दफा २९ को (२) बमोजिमको कार्वाही किन हुनु नपर्ने हो?’ राखेपले भनेको छ, ‘सो का लागि ऐ. दफाको (७) बमोजिम पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र सफाई पेश गर्नका लागि पत्राचार गर्ने निर्णय भएको हुदाँ सोही बमोजिम उचित कारण सहित लिखित जवाफ पेश गर्नु हुन निर्णयानुसार अनुरोध छ।’

