चितवन ३ बाट पराजित नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रेनु दाहालले आफ्नो चुनाव खर्चको विवरण सार्वजनिक गरेकी छन् ।
विवरण अनुसार उनले चुनावमा १४ लाख ६६ हजार ७ सय रुपैयाँ खर्च गरेकी थिइन् ।
भरतपुर महानगरको मेयरबाट राजीनामा दिएर दाहाल प्रतिनिधिसभा चुनावमा सहभागी भएकी हुन् । उनी रास्वपाकी उम्मेदवार सोविता गौतमसँग भारी मतले पराजित भइन् ।
सोविताले ५९ हजार २ सय ७७ मत ल्याएर चुनाव जित्दा रेनु ३८ हजार ६ सय ६२ मतका साथ दोस्रो भइन् ।
चुनाव खर्चमा भने रेनुले सोवितालाई उछिनेकी छन् । सोविताले ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेकी थिइन् । रेनुले त्योभन्दा करिब ५ लाख रुपेयाँ बढी खर्च गरेको देखाएकी छन् ।
रेनुको सबैभन्दा बढी सवारी साधानमा खर्च
भएको छ । उनले १५ दिनसम्म दुई वटा सवारी साधन प्रयोग गर्दा ३ लाख रुपैयाँ खर्च गरिन् ।
वडागत प्रचार प्रसारमा २ लाख ८० हजार, झण्डा, ब्यानर पम्प्लेट आदिमा १ लाख ४१ हजार, नमूना मतपत्र, घोषणापत्र आदि छपाइमा १ लाख ४१ हजार खर्च भएको छ ।
यस्तै, प्रचार प्रसार सामग्रीमा १ लाख १३ हजार ५ सय, मतदान प्रतिनिधि अनुशिषणमा १ लाख ३० हजार खर्च भएको विवरणमा उल्लेख छ । खाना र पानीमा ५३ हजार २०० मात्रै खर्च भएको देखाइएको छ ।
