अछामको एउटा गाउँपालिकाले ‘महानायक’ अभिनेता राजेश हमालको नाम र तस्बिर बेचेर लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको सनसनीपूर्ण तथ्य खुलेको छ। हमालको तस्बिर प्रयोग गरी वृत्तचित्र (डकुमेन्ट्री) बनाउने बहानामा ढकारी गाउँपालिकाका पदाधिकारी र कर्मचारीले १२ लाखभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार गाउँपालिकाले अभिनेता हमालको नाम जोडेर र उहाँको व्यक्तिगत निर्देशनमा चलचित्र निर्माण गर्ने भन्दै सुरुमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, पछि रित्तो हात १२ लाख ७७ हजार २५० रुपैयाँ भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको छ। सो रकम भुक्तानी गर्दा सार्वजनिक खरिद ऐन र नियमावलीको धज्जी उडाइएको अख्तियारले जनाएको छ।
राजेश हमालको नाममा भएको यो ठूलो आर्थिक अनियमितता प्रकरणमा अख्तियारले गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
फन्दामा पर्नेहरूमा:
१. प्रकाशबहादुर साउद: गाउँपालिका अध्यक्ष
२. लक्ष्मण साह: निमित्त प्रमुख प्रशासकीय अधिकृत
३. विमल साउद: लेखापाल
४. रामजी लम्साल (रामबहादुर लम्साल): आरजे ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष
उनीहरू सबैमाथि सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोग लगाइएको छ।
अख्तियारले गाउँपालिका अध्यक्ष साउदसहितका आरोपीहरूविरुद्ध भ्रष्टाचार भएको रकम बराबरकै बिगो दाबी गरेको छ। उनीहरूसँग जनही १२ लाख ७७ हजार २५० रुपैयाँ बिगो र सोही बमोजिमको कैद सजाय माग गर्दै विशेष अदालतमा अभियोगपत्र दायर गरिएको अख्तियारका प्रवक्ताले जानकारी दिए।
अभिनेता हमालको लोकप्रियतालाई हतियार बनाएर दुर्गम गाउँपालिकामा भएको यो भ्रष्टाचार प्रकरणले स्थानीय तहमा हुने बजेट दुरुपयोगको भयावह रूप उजागर गरेको छ।