एन्फालाई अध्यागमनको कडा निर्देशन: टुरिस्ट भिसाका विदेशी खेलाडीलाई लिगमा रोक

 संवाददाता    २०८२, ५ चैत्र बिहीबार १३:४३     24 जनाले पढ़िसके



Spread the love

अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशीहरुलाई कुनै पनि प्रतियोगितामा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्देशन दिएकाे छ ।

विभागले आज एन्फालाई पत्र पठाउँदै पर्यटक भिसामा नेपालमा रहेका विदेशी खेलाडीलाई कुनै पनि प्रतियोगितामा सहभागी नगराउन निर्देशन दिएकाे हाे ।

एन्फा मातहत सञ्चालन भइरहेको राष्ट्रिय महिला तथा पुरुष लिग फुटबलमा केही क्लबहरूले पर्यटक भिसामा आएका विभिन्न देशका खेलाडीलाई समावेश गरेको भन्दै विभागमा उजुरी परेको थियो ।

अध्यागमन नियमावली, २०५१ को नियम २० अनुसार विदेशी नागरिकले प्राप्त गरेको भिसाको उद्देश्य बाहेक अन्य गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था छ ।

कुनै पनि खेलमा विदेशी खेलाडीहरुलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन एन्फालाई अनुरोध गरेको छ ।

विभागबाट आजैदेखि अनुगमन सुरु गरेकाे जनाउँदै स्वीकृति नलिएका विदेशी खेलाडीहरु भिसाको उद्देश्य विपरित कुनै पनि खेलमा सहभागी भएको पाईएमा तत्काल कार्वाही अगाडि बढाइने चेतावनी दिएको छ ।