समुद्री गुप्तचरी संस्था (म्यारिटाइम इन्टेलिजेन्स कम्पनी) का अनुसार पछिल्ला दिनहरूमा हर्मुज जलघाँटी आवतजावत गर्ने जहाजहरूको सङ्ख्या झण्डै दोब्बर भएको छ। जहाज ट्र्याकिङ तथ्याङ्कअनुसार इरानले व्यावसायिक जहाजहलाई सीमित तर बढ्दो सङ्ख्यामा उक्त घाँटी पार गर्न अनुमति दिइरहेको अन्तर्ष्ट्रिय सञ्चार माध्यम अल जजिराले जनाएको हो।
म्यारिटाइम इन्टेलिजेन्स कम्पनी ‘विन्डवार्ड’ का अनुसार सोमबार उक्त महत्वपूर्ण जलमार्गमा इरानी झण्डा नभएका आठवटा जहाजहरू ‘अटोमेटिक आइडेन्टिफिकेसन सिस्टम’ मार्फत फेला परेका छन्। विन्डवार्डका अनुसार यो सङ्ख्या पछिल्ला दिनहरूको तुलनामा झण्डै दोब्बर हो।
विन्डवार्डकी विश्लेषक मिशेल विसे बोकम्यानले इरानको जलक्षेत्र हुँदै बाटो परिवर्तन गर्ने जहाजहरूको सङ्ख्या बढ्दै गएको बताइन्। यसले तेहरानले ‘मैत्रीपूर्ण देशहरूलाई अनुमतिमा आधारित पारवहन’को सुविधा दिइरहेको सङ्केत गर्छ। ‘पश्चिमा मुलुकसँग आबद्ध जहाजहरू स्वेच्छाले इरानी जलक्षेत्रमा प्रवेश गर्दैनन्। सम्भवतः चिनियाँ, भारतीय र अन्य जहाजहरू आउनेछन्’ बोकम्यानले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्।
अर्को जहाज ट्र्याकिङ सेवा ‘मरिनट्राफिक’ले पनि आइतबार र सोमबार ९ वटा जहाजले हर्मुज पार गरेको रेकर्ड गरेको छ। त्यसअघिका दुई दिनमा यो सङ्ख्या पाँच मात्र थियो।
विश्वको कुल तेल आपूर्तिको करिब पाँच भागको एक भाग ओगट्ने यो हर्मुज जलघाँटीको ट्राफिक अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेदेखि ९५ प्रतिशतभन्दा बढीले गिरावट आएको छ। यस क्षेत्रमा ढुवानी गर्ने जहाजविरुद्ध इरानी धम्कीका बीच गैर-इरानी जहाजहरू (धेरैजसो चिनियाँ, भारतीय र पाकिस्तानी झण्डा भएका) को दैनिक आवतजावत एकल अंकमा झरेको थियो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि तेल बोकेको जहाज भारत पुगेको समाचार सम्प्रेषण गरेको छ। भारतीय समाचार स्रोतलाई उदृत गर्दै रोयटर्सले यस्तो लेखेको हो।
नेपालमा पेट्रोलिम पदार्थ भारतबाट आउने गर्छ।